काठमाडौं । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको छ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकको लागि स्वीकृत दिएसँगै विहीबार (मंसिर २६ गते) देखि बैंकले राष्ट्रिय स्तरको कारोबार सुरु गरेको छ । बैंकले ४ वटा साना विकास बैंकलाई प्राप्ती गरेसँगै राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको हो । २०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा स्थापना भएको गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंक २०६९ मा मर्ज भई १० जिल्ला कार्यक्षेत्र सहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो ।
यस बैंकले २०७३ सालमा प्युठानमा एक जिल्ले कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई गाभेको बैंकले गत २०७६ असोज २७ गतेदेखि पुर्णिमा विकास बैंक र भागर्व विकास बैंकलाई एक्वायर गरेपछि राष्ट्रिय स्तरको लाइसेन्सको लागि राष्ट्र बैंकमा आवेदन दिएको थियो ।
नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्न दुई अर्ब ५० करोड चुक्ता पूँजी तोकेकामा शाइन रेसुङ्गाको चुक्ता पूँजी दुई अर्ब ६२ करोड रहेको छ ।
हाल बैंकको पूँजी ५ अर्ब र जारी पूँजी २ अर्ब ६२ करोड रहेको छ भने ७१ वटा शाखाहरुमार्फत सेवा दिइरहेको छ । बैंकले प्रदेश ५ मा मात्रै बैंकका ६९ वटा शाखा कार्यालय संचानल गरिरहेको छ । र २ वटा एटीएम नेटवर्क मार्फत पनि सेवा दिइरहेको छ ।













