×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिओकेका पूर्व सिइओ अजय श्रेष्ठको Exclusive अन्तर्वार्ता, ‘… र पनि बिचलित छैन, कुनै न कुनै रुपमा यहि क्षेत्रमा योगदान दिनेछु’

१. तपाईंको स्वास्थ्य कस्तो छ ? स्वास्थ्यस्थिति ठिक थिएन भन्ने कुरा आएको थियो नि ?
स्वास्थ्यस्थतिमा केहि उतारचढाव आउनु उमेरको कुरा पनि होला । केहि समस्या थिए । अहिले म ठिक छु ।
२. बैंक अफ काठमाण्डूको जाहेरीपछि असोज ३ गते तपाईं पक्राउ पर्नुभयो, बैंकले के जाहेरी दिएको रहेछ ?
बैंकले जाहेरीमा के भनेर उल्लेख गरेको रहेछ भन्ने कुरा प्रहरीले अनुसन्धान सुरु गरेपछि मात्र मलाई थाहा भयो । जाहेरी दिइएको छ भनेर मलाई बैंकबाट फोन त आएको थियो तर यस्तो नै हो भनेर भनिएन । बैंकले पूरा विवरण खुलाएको भए मैले सोहिअनुसार तयारी गर्थ्यें । तर त्यस्तो भएन । पछि प्रहरीको अनुसन्धानका क्रममा एउटा ऋणको केसमा ऋणीहरुबिरुद्ध केस गर्दा हामी सबैलाई पक्राउ गरिएको थाहा भयो ।
३. तपाईं लामो समय थुनामा पर्नुभयो, यो घटनापछाडि बैंकिङ कसुरमै रहेका प्रावधान ‘समस्या’का रुपमा रहेको पाउनुभयो वा बैंककै नियतमा प्रश्न गर्ने ठाउँ छ ?
यो कानुन अहिले आएको कानुन होइन । यो धेरै अगाडीको कानुन हो । समय बदलियो तर कानुन बदलिएन । मेरै घटनाको कुरा गर्ने हो भने, ऋणी र व्यवस्थापनको मिलेमतो थियो भन्ने कतै पनि देखिएन । तर पनि यो घटनामा धेरै जना फसे । मैले लामो समय थुनामा बस्नुपर्यो ।  यो कानुनमा कतिपय ‘ग्यापहरु’ छन् । बैंक आफैंले जाहेरी दिंदा यो कुरामा ख्याल गरिदिएको भए कुरा अर्कै हुने थियो होला । संस्थाले आफुले पनि कतिको अनुसन्धान गर्यो भन्ने कुरा ख्याल भएको भए कुरा अर्कै हुन्थ्यो होला । तर यहि कानुनलाई टेकेर हामीमाथि अनुसन्धानका नाममा कतै अन्याय त भएन भन्ने कुरा पनि धेरैले सोच्नुभएको होला । भलै यो घटना बाट बैंकरहरुले पाठ सिकेजस्तो लाग्छ । म पीडीत भएँ, त्यो आफ्नो ठाउँमा छ, तर यो घटनाले धेरैलाई धेरै कुरामा पाठ सिकाएजस्तो लाग्छ । बैंकिङ कसुर कानुनका ग्यापहरुलाई परिपूर्ति गर्नुपर्छ भन्ने आवाज पनि उठेका छन् । यो कुरामा सबैको ध्यान गएजस्तो लाग्छ । एउटा व्यक्ति वा संस्था पीडीत भएपछि समस्याका समाधान निस्किएका विश्वव्यापी उदाहरणहरु पनि छन् । यसपाली पनि यस्तै होस्, मैले केहि पीडा भोगेपनि क्षेत्रलाई अव राम्रो होस्, कानुनका केहि अफ़्ट्यारा प्रावधानहरु परिवर्तन हुन् । 
४. यो घटनामा तपाईंको अनुभव कस्तो रह्यो ?
मलाई प्रहरीले पक्राउ गरेपछि परिवारमा तनाव हुने नै भयो । मलाइ पनि केहि समय त धेरै तनाव भयो । अहिले विस्तारै सबै कुरा ठिक हुँदै आएका छन् । तर मेरो अनुभव भन्दा पनि यो क्षेत्रले यसबाट पाठ सिक्नुपर्छ । मेरो केस त म सल्टाउंला, पूरा बैंकिङ क्षेत्रले यो घटनाबाट पाठ सिक्नुपर्छ । नत्र यहि कानुन नै रहने हो भने जुनसुकै बेला जो पनि फस्न सक्छ । यसका ‘ग्याप’हरु परिपूर्ति गरिएनन् भने फेरी यस्तै घटना दोहोरिन सक्छ । यो कुरामा सम्बन्धित सबै सचेत हुनुपर्छ जस्तो लाग्छ ।
५. बैंकले आन्तरिक अनुसन्धान गरेको रहेछ कि रहेनछ ? तपाईंले के पाउनुभयो ?
अनुसन्धानका क्रममा मैले बैंकले अनुसन्धान नै नगरेको पाएँ । बैंकले अनुसन्धान गरेको भए त्यहि अनुसारका डकुमेन्ट हुने हुनेथिए होलान् । तर त्यस्तो डकुमेन्ट केहि पनि मैले देखिन । बैंकले आन्तरिक अनुसन्धान गरिदिएको भए र प्रहरीमा केस पेश गरेको भए हामीले आफ्नो बयान के दिने भन्ने कुरामा पनि तयारी गर्थ्यौं । तर त्यस्तो अवस्था रहेन । केस अनुसन्धान नै भएको रहेनछ, त्यसैले जे-जे जानिएको छ, त्यहि अनुसार बयान दियौं । न बैंकले अनुसन्धान गरेको पाइयो, न त हामीलाई यस विषयमा समयमा जानकारी नै दिइयो । जसका कारण लामो समय दु:ख पाउनुपर्यो ।  
६. बैंकले ऋण असुलीमा जान सक्थ्यो, तर बैंक सिधै सिआइबी गएको देखियो, बैंकलाई त्यस्तो के बाध्यता परेछ ?
खोइ ? बैंकलाई के बाध्यता पर्यो त मैले जान्दिन । तर बैंकले धीतो लीलाम गरेर वा अन्य प्रक्रियाबाट असुली गर्न सक्थ्यो । ऋण नउठेको खण्डमा ऋण असुली न्यायाधिकरणमा पनि जान सक्थ्यो । त्यसो नगरी बैंकले किन हामी विरुद्ध जाहेरी दियो भन्ने कुरामा म कमेन्ट गर्न सक्दिन । तर बैंकले ऋण असुल गर्न प्रयास नै नगरी केस अगाडी बढाइएकोचाहिं देखियो ।
७. सिआइबीले पनि हामीलाई उजुरी गरेपछि सबैलाई तान्नुपर्छ, आफैं सल्टाउनुहोस् भनेर भनेको थियो र पनि बैंकले तपाईं विरुद्ध उजुरी गर्यो भन्ने कुरा छ नि ?
अव यो कुरा सिआइबीले बैंकलाई भन्यो कि भनेन भन्ने कुराको त मसँग कुनै प्रमाण छैन । तर प्रहरीको अनुसन्धानका क्रममा प्रहरीले पहिला नै बैंकलाई यसका प्रक्रियाबारे भनेको रहेछ भन्नेचाहिं मलाइ पनि थाहा भयो । बैंकले जाहेरी दिनुभन्दा अघि वा दिएपछि विस्तृतमा यो घटनाबारे हामी  कसैलाई जानकारी दिएजस्तो लाग्दैन । मलाइ पनि कुनै पनि जानकारी दिइएन । मलाई बयान लिनु कुनै ठुलो वा नौलो कुरा थिएन तर थुनामै राखेर बयान लिनु वा अनुसन्धान गर्न आवश्यक थियो र ? भन्ने कुराचाहिँ मलाइ पनि अचम्म लागेको छ । यो पनि कानुनमै रहेको समस्याजस्तो लाग्छ ।
८. तपाईंले छोडेपछि बैंक अफ काठमाण्डूका उच्च व्यवस्थापनमा रहेका धेरैले जागिर छोडे, अझ तपाईंको केस परेपछि स्टाफहरु डराएका छन् भन्ने पनि सुनिएको छ नि ? कि मर्जरको साइड एफेक्ट हो यो ? 
नयाँ व्यवस्थापन आएपछि व्यवस्थापनले चाहेअनुसारका मान्छेसँग काम गर्न खोज्नु स्वाभाविक हो । तर मर्जर भएकै कारण यस्तो भएको हो भने त्यो ठिक हो जस्तो लाग्दैन । मर्जरबाट त फाइदा लिन सक्नुपर्छ । २ र २ मिलेर ५ हुनुपर्छ । जहाँसम्म स्टाफहरु डराएका छन् भन्ने कुरा छ, त्यो स्वाभाविक हो । कानुनमै खोट भएपछि सबै डराउने नै भए । यो कुराको अव समाधान खोज्नुपर्छ ।   
९. आगामी दिनमा अजय श्रेष्ठलाई अव कुन रुपमा हेर्न पाइन्छ ? बैंकका संचलाक, सिइओ वा अरु कुनै भूमिकामा ?
९-५ जागिर गर्ने सोच अव छैन । तर यहि क्षेत्रमा काम गर्नेछु । मैले बैंकमा लामो समय योगदान गरें । अव सिइओ भएर नभएपनि तालिमको माध्यमबाट वा अन्य कुनै तरिकाले यहि क्षेत्रमा योगदान दिने सोचमनमा छु । मैले सिकेको पनि यहि हो । जीवनमा नसोचेको घटना भयो । र अपनी म बिचलित छैन। कुनै न कुनै रुपमा यही क्षेत्रमा योगदान दिनेछु ।’  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: