×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पर्वतमा पहिलो पटक लगानी बहस आयोजना, विकासका लागि लगानीको खोजी गर्ने उद्देश्य…!

काठमाडौँ – जिल्लामा नयाँ व्यावसायिक लगानीका क्षेत्रको खोजी गर्न पहिलो पटक लगानी बहस कार्यक्रम आयोजना गरिने भएको छ । पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा भोलि बिहीबार लगानी बहस कार्यक्रम आयोजना गर्न लागिएको हो । 
पछिल्लो समयमा साहसिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतमा थप लगानीका क्षेत्रहरुको खोजी र लगानी सुनिश्चित गर्न बहस कार्यक्रम आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । पर्वतमा खानी उद्योग सञ्चालन, पर्यटन उद्योग, कृषिजन्य उद्योग तथा जलविद्युत्का क्षेत्रमा नयाँ लगानी भित्र्याउने उद्देश्य राखिएको छ । 
लगानी बहस कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष सुरज वैद्य, महासङ्घका पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठ तथा कुशकुमार जोशी र प्रतिष्ठित व्यवसायी शेखर गोल्छाले भाग लिने कार्यक्रम रहेको कार्यक्रमको संयोजन गरिरहनुभएका पवसंघका पूर्वअध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिनुभयो । 
बहस कार्यक्रममा पर्वतको फलामखानी उत्खनन र माटेमा रहेको स्लेट ढुङ्गाखानी, कुस्माबजार र आसपास रहेका पर्यटकीय क्षेत्रमा सिसाको पुल, रक क्लाइम्बिङ, हेलिकप्टर, अल्ट्रालाइटजस्ता साहसिक पर्यटनका थप पूर्वाधार र होटल रिसोर्टमा लगानी, पर्यटकीय क्षेत्रहरुमा केबुलकार बनाउने, लप्सी प्रशोधनका ठूलो उद्योग सञ्चालन गर्ने र कालीगण्डकी र मोदीखोलामा थप जलविद्युत् आयोजनाहरुको विकासका लागि लगानीको खोजी गर्ने उद्देश्य राखिएको छ । 
पोखराबाट नजिक रहेको, कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको ट्रान्जिट प्वाइन्टमा रहेका कारण पर्वतमा उद्योगहरुको स्थापना, खानी उद्योगको सञ्चालन, पर्यटनका नयाँनयाँ गन्तव्यको विकास गर्न सकिने सम्भावना छ । पर्वतका कालञ्जर क्षेत्र, कुस्मा क्षेत्र, पञ्चासे, डहरे, महाशिला क्षेत्र र कालीगण्डकी किनारमा धेरै पर्यटकीय सम्भावना भएकाले साहसिक र धार्मिक पर्यटनको विकास गर्न सकिन्छ । यसबाहेक लगानीका अन्य क्षेत्रका बारेमा पनि बहस कार्यक्रममा छलफल हुने र लगानीको आश्वासनसमेत आउने विश्वास लिइएको अध्यक्ष शर्माले बताउनुभयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: