
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ । ‘नेपाली उत्पादनहरुको विक्री तथा निर्यात र महिला उद्यमीहरुका अवसर र चुनौति’ विषयमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उद्यम व्यवसाय गर्नेहरु आफ्नो कामबाट सन्तुष्ट नभएसम्म देशमा समृद्धि नआउने बताउनुभएको हो । उहाँले आफु उद्यमी समेत भएकाले उद्यमी व्यवसायीहरुको सबै समस्याको अन्त्य गर्न काम गरिरहेको बताउनुभयो । त्यसका लागि मन्त्रालयमा एकद्धार प्रणालीमार्फत काम भइरहेको उहाँले बताउनुभयो । उहाँले उद्यमी व्यवसायीहरुलाई सबै समस्या मन्त्रालयमा आएर बताउन समेत आग्रह गर्नुभयो । उहाँले महिला उद्यमीहरुका लागि छुट्टै व्यवास्था गरेर सहयोग गर्न मन्त्रालयले योजना बनाइरहेको जानकारी समेत दिनुभयो ।