×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्तरिक राजश्व कार्यालय भद्रपुरद्वारा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन…

PRIME CA

आन्तरिक राजश्व कार्यालय भद्रपुरद्वारा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन…

१ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ८७ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालू आव २०७६/७७ को माघ महिनासम्ममा रु एक अर्ब ८६ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
कार्यालयले पुराना कर नबुझाएका करदाताबाट सो अवधिमा रु ४४ करोड उठाउन सफल भएको आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले जानकारी दिनुभयो । चालू आवको असार मसान्तसम्ममा रु तीन अर्ब ६६ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले सात महिनाको अवधिमा आयकरतर्फ रु ७७ करोड, मूल्य अभिवृद्धि करतर्फ रु ८७ करोड र अन्तशुल्कतर्फबाट रु २४ करोड राजश्व सङ्कलन गरेको उहाँको भनाइ थियो । 
झापा, इलाम, पाँचथर र ताप्लेजुङमा ८० हजार बढी व्यावसायिक करदाता छन् । समयमै मूल्य अभिवृद्धि र आम्दानी कर नबुझाएका निर्माण कम्पनी, उद्योगी व्यवसायीलाई पत्राचार गरेर कर बुझाउन अनुरोध गरिरहेको उहाँले बताउनुभयो ।
“हामीले पटक–पटक पत्राचार गरेका छौँ”, उहाँले भन्नुभयो, “अब अटेर गरेमा पत्रपत्रिकामा सूचना जारी गरेर उनीहरुको बैंक खाता रोक्ने र घरजग्गा लिलामी गरी असुल्ने तयारीमा छौँ ।”
गत आव २०७५/७६ मा कार्यालयले रु दुई अर्ब ६१ करोड ५६ लाख ५२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा लिए पनि रु दुई अर्ब ६२ करोड २५ लाख २६ हजार राजश्व सङ्कलन गरेको थियो । कार्यालयले ई–हाजिरी सेवा शुरु गर्नुका साथै ‘आइपी’ क्यामेरा जडान गरी मोबाइलबाट र सिसीटिभीबाट अनुगमन गर्ने गरेको प्रमुख कर अधिकृत श्रेष्ठले बताउनुभयो । सेवाग्राहीलाई प्रभावकारी र सरलीकरण सेवा प्रवाह गर्न कार्यालयमा सहयोग कक्ष राखिएको छ ।
कार्यालयले जिल्लाका विभिन्न स्थानबाट विभिन्न समयमा अवैधरूपमा भेटिएको एक हजार ७०० लिटर मदिरा र ६० बोरा सुर्ती नष्ट गरेको छ । लामो समयदेखि बरामद गरिएका उक्त सामग्री कार्यालयको कोठामा भण्डारण गरिएको थियो । भद्रपुर नगरपालिकाको सहकार्यमा उक्त सामग्री नष्ट गरिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: