×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सञ्चारमन्त्रीको घुस काण्डमा नाम जोड्दै गगन थापाले मागे प्रधानमन्त्रीको राजिनामा, सांसदहरुले ठोके टेबल…

PRIME CA

सञ्चारमन्त्रीको घुस काण्डमा नाम जोड्दै गगन थापाले मागे प्रधानमन्त्रीको राजिनामा, सांसदहरुले ठोके टेबल…

१३ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले नेपाल कम्युनिष्ट पार्टी र देशको हितका लागि राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गर्नूभएको हो । थापाले प्रधानमन्त्री बन्ने संख्या संसदमा भएपनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेकाले राजीनामा दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘संख्या तपाईसँग होला तर शासन गर्ने वैधानिक योग्यता क्षमता तपाईले गुमाउनु भएको छ । त्यसैले सम्माननिय प्रधानमन्त्री जी नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो नेपालको स्वास्थ्यको लागि तपाई स्वास्थ्य लाभ गर्न गइदिनुहोस् ।’
थापाले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा र विजय मिश्रबीचको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिना अघि नै प्रधानमन्त्रीले सुनेको दावी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन हिम्मत छ की छैन ? भन्दै प्रश्न गर्नुभयो ।
थापाले डाँडाँकाँडा र तालतलैया डुलेर बस्नुभन्दा प्रधानमन्त्रीले संसदमा आएर आँखामा आँखा जुधाएर जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदमा आएर, उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्री ज्यूसँग छ कि छैन् ?’, थापाले भन्नुभयो, ‘प्रधानमन्त्री ज्यूसँग हिम्मत छ की छैन मलाई थाहा छैन तर संसदसँग यो हिम्मत हुनै पर्छ । ध्यानाकर्षण मात्रै होइन सभामुख महोदय संसदले यो सामर्थ राख्नै पर्छ । सम्मानिय प्रधानमन्त्री डाँडाकाँडा डुलेर बस्ने होइन । ताल तलैया हेरेर बस्ने होइन् । सदनमा आउनुपर्छ । यहाँ उभिनुपर्छ प्रश्नको सामना गर्नुपर्छ । हामी यहाँ बसेर निम्छरो होइन् सही प्रश्नहरु सोध्नेछौँ ।’’
अडियो डेढ महिना अगाडी सुनेको विषयमा प्रधानमन्त्रीले जे भनेपनि उहाँका आसोपासेहरुले थाहा थिएन भनेर जवाफ दिइरहेको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले के भन्नुहुन्छ मलाई थाहा छैन् । तर उहाँका आसेपासेहरुले केही दिनदेखि भनिरहनुभएको छ उहाँलाई थाहा थिएन् । प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलो मा राख्दै गर्दा कसैले नभ्याउने अनि प्रधानमन्त्रीका भनाईका आधारमा काभ्रेले अहिले सम्म जन्माएको सर्वाधिक प्रतिभाशाली प्रधानमनत्रीको प्रवक्ताले गर्नुभएको यी कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याउनुपर्ने ? हामीले पत्याउने नै हो भने हाम्रो प्रधानमन्त्रीलाई प्रश्न रहन्छ । यी सबैकुरा तपाईलाई थाहा छैन भने प्रधानमन्त्री जी तपाईलाई के थाहा छ ? प्रधानमन्त्री जी तपाईलाई थाहा छ नागरिकहरु के भन्दैछन् ।’
थापाले सेक्युरिटी प्रेसको ठेक्का मात्रै नभएर फोर जी विस्तार, अप्टिकल फाइबर विस्तार, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याज स्थापना लगायतका ठेक्काका बारेमा सबै कुरा थापा भएपनि अहिले परिस्थिति नियन्त्रण बाहिर गएपछि बस्कोटा बलिको बोको भएको भनेर नागरिकले भनिरहेका छन्, भन्नुभयो ।
‘यो सेक्युरिटी प्रेसको ठेक्का मात्रै होइन् । स्याटेलाइटको ठेक्का, फोरजी विस्तारको ठेक्का, अप्टिकल फाइबर विस्तारको ठेक्का, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, सामूदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने, स्वास्थ्य संस्था वडा इकाई विद्यालय सबै ठाउँमा फ्रि इन्टरनेट सेवा पु¥याउने यी सबै ठेक्काका बारेमा प्रधानमन्त्री ज्युलाई सबै कुरा थाहा थियो । परिस्थिति नियन्त्रण बाहिर गएपछि अहिले गोकुल बास्कोटालाई बलिको बोका बनाइएको छ भनेर नागरिकले भनिरहेका छन् तपाईलाई थाहा छ ?, थापाले प्रश्न गर्नुभयो ।
प्रधानमन्त्री ओलीलाई थापाले बालुवाटारमा ऐन छ कि छैन भनेर समेत प्रश्न गनुृभएको छ । पटक पटक भ्रष्टाचारीको अनुहार हेर्दिन भन्नेप्रधानमन्त्रीलाई जनताले प्रश्न गर्दैछन् भन्दै थापाले भन्नुभयो, ‘प्रधानमन्त्री जी तपाईले भ्रष्टाचारीको अनुहार हेर्दिन भनेर पटक पटक दोहोर्याउनु भएको छ । तर नागरिकहरु तपाईलाई प्रश्न गर्दै छन् । बालुवाटारमा ऐना छ की छैन भनेर सोध्दैछन् ।’
नेकपाका कार्यकर्ताहरुले प्रधानमन्त्रीको विषयमा र भ्रष्टाचारको विषयमा ठूलो स्वरले बोल्न नसकेपनि आफुहरुसँग कानेखुसी गर्दै गुनासो गर्ने गरेको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ज्यु तपाईका पार्टीका कार्यकर्ता ठूलो स्वरले बोल्न सक्दैनन् । तर यहि संसदको लभिमा भेट्दै गर्दा कहिलेकाँही कानेखुसी गरेर हामीलाई भन्छन्, हाम्रो प्रधानमन्त्री पहिले पहिले माक्र्सवादी जस्तो देखिनुहुन्थ्यो । बिचमा समाजवादी जस्तो देखिन थाल्नुभयो । आजभोली यताबाट हेरेपनि उताबाट हेरेपनि यतिवादी मात्रै देखिनुहुन्छ भन्नुहुन्छ । प्रधानमन्त्री जी तपाईलाइ थाहा छ ?’ 
एमसीसी प्रकरणमा पार्टीका खाँटी राष्ट्रवादीहरुले प्रधानमन्त्रीलाई तह लगाएको भन्दै थापाले एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको प्रस्ताव ल्याउने कुरामा कसरी कमजोर देखिनुभयो भन्दै थापाले प्रश्न गर्नुभयो । ‘एमसीसीको प्रकरणका सन्दर्भमा तपाईको पार्टीभित्रका खाँटी राष्ट्रवादीले जसरी तपाईलाई तह लगाएका छन् । अनि २ दिन अगाडी मात्रै अहिले जति जालझेल गरेर होइन होइन भनेपनि तपाईको पार्टी बैठकमा एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरालाई लिएर संविधान संशोधन गर्ने प्रस्ताव तयार गर्ने कार्यदल बनाउने कुरामा तपाई जसरी कमजोर देखिनुभयो । त्यो देखेपछि तपाईलाई बाहिर के भन्दैछन् । थाहा छ ? ‘देखिँदाखेरी सुरो यथार्थमा बिचरो’ भन्दैछन् प्रधानमन्त्री जि तपाईर्लाइ थाहा छ ?’, थापाले प्रश्न गर्नुभयो ।
प्रधानमन्त्रीको जन्मादिनका विषयमा बाहिर टिप्पणी भइरहेको भन्दै थापाले पूर्वराजाहरुको न्यास्रो मेटाउने गरी प्रधामन्त्रीले जन्मदिन मनाएको भन्दै बाहिर प्रश्नहरु उठिरहेको उहाँले बताउनुभयो । ‘हामीलाई २०६०/२०६१ को ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएको छ भन्नुहुन्छ । पूर्वराजा यसरी नै हिडिबक्सनुहुन्थ्यो । आफै अभिनन्दन गराउन लगाइबक्सन्थ्यो । विद्यार्थीहरुलाई बोलाइ बक्सन्थ्यो । सबैले जय जयकार गर्थे । अनि आफ्नो छेउको भारद्वारलाई सोधी बक्सन्थ्यो एक दुई जना मान्छेहरु यताउता विरोध गरिरहेका छन् नी ? अनि भारद्वारले भन्थ्यो महाराज सब ठिक छ यी एक दुई जना केही मानिसहरु मात्र महाराजको विरोध गरिहेका छन् । प्रधानमन्त्री जी मात्र होइन् त्यो जन्मोत्सव मनाउँदै गर्दा प्रधानमन्त्रीको वरिपरि जे जस्तो भिडभाड देखियो तछाड मछाड देखियो यो देख्दै गर्दा प्रधानमन्त्रीको वरिपरि रहनेहरुले पूर्वराजा ज्ञानेन्द्रको भारद्वारहरुको न्यास्रो पनि मेटाइदिएका छन्’’, उहाँले भन्नुभयो । 
यी सबैकुरा प्रधानमन्त्रीलाई थाहा भएर पनि प्रधानमन्त्री थाहा नपाएजस्तो गर्नुभएको भए पाप हुने र पाए नपएको भए प्रधानमन्त्रीको अक्षमता हुने भन्दै थापाले उहाँको राजीनामा माग समेत गर्नुभयो ।
थापाले प्रधानमन्त्री ओलीलाई संसदमा उपस्थित हुनका लागि रुलिङ गर्न पनि आग्रह गर्नुभएको छ  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: