×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहर : चन्द्रागिरि नगरपालिकाले विद्यार्थी र मजदूरलाई घर पुर्याइदिने !

LAXMI SUNRISE BANK

कोरोना कहर : चन्द्रागिरि नगरपालिकाले विद्यार्थी र मजदूरलाई घर पुर्याइदिने !

१७ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदूरलाई घर नजिकको राजमार्गसम्म पुर्‍याउने व्यवस्था मिलाउने भएको छ । विश्वव्यापीरुपमा फैलँदै गएका कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले चैत २५ गतेसम्म ‘लकडाउन’ गरेपछि अलपत्र विद्यार्थी तथा मजदूरलाई घर जाने व्यवस्था मिलाउन लागेको हो । 
चन्द्रागिरिका प्रवक्ता, हरिभक्त महर्जनले चन्द्रागिरि नगरपालिकाभित्र कोठामा बसेर दैनिक ज्यालादारी गर्ने मजदूर तथा विद्यार्थीलाई घर नजिकको गन्तव्यस्थल राजमार्गसम्म पु¥याउने निर्णय गरिएको जानकारी दिए । ‘लकडाउनको समयमा कोठामा बस्न समस्या भएका विद्यार्थी र मजदूरका लागि घर नजिकको राजमार्गसम्म लैजानका लागि गाडीको व्यवस्था नगरपालिकाले मिलाउँछ’, उनले भने । चन्द्रागिरिले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको राजमार्गसम्म पु¥याउने व्यवस्था गर्न लागेको उनको भनाइ छ । 
चन्द्रागिरिले घर जान मन गरेका विद्यार्थी तथा मजदूरलाई वडामा नामथर, हाल बसोबास गरेको ठेगाना, कार्यरत रहेको संस्था वा कार्यलयको नाम, बाहिर जान लागेको गन्तव्यस्थलको ठेगाना र सम्पर्क नम्बर टिपाउन अनुरोधसमेत गरेको छ । चन्द्रागिरिले नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ध्यानमा राखेर व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हस्तान्तरण गरेको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोरोना रोगको सम्भावित सङ्क्रमणबाट जोगिनका लागि चन्द्रागिरिभित्र रहेका स्वास्थ्य सङ्घ संस्थालाई पिपिई हस्तान्तरण गरिएको जानकारी दिए । ‘सबै स्वास्थ्यकर्मीलाई पुग्ने गरी पिपिई नभएकाले शुरुको अवस्थामा सबै स्वास्थ्य संस्थालाई पुग्ने गरी पिपिई वितरण गरेका छौँ, बाँकी विस्तारै थप्दै जान्छौँ’, नगरप्रमुख गिरीले भने ।
काठमाडौँ प्रवेशको मुख्यद्वारका रुपमा रहेको चन्द्रागिरिले नागढुङ्गा–कलङ्की सडकखण्ड र भित्री सडकखण्डमा किटनाशक औषधिसमेत छरेको छ । चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक र नगरपालिकाका भित्री सडकमा ‘हाइड्रो क्लोराइड’ नामक किटनाशक औषधि छरेको हो । कोरोना रोग नियन्त्रणका लागि केही हदसम्म सहयोग पुग्ने उद्देश्यले नागढुङ्गादेखि कलङ्कीसम्म र नगरपालिकाका भित्री सडकमा किटनाशक औषधि छर्किएको नगरपालिकाले जनाएको छ । 
चन्द्रागिरिले सरकारले चैत ११ देखि २५ गतेसम्म ‘लकडाउन’ गरेकाले लकडाउनको समयमा नगरवासीलाई घरभित्र बस्न आह्वान गर्दै नगरपालिकाभित्र माइकिङ गरेको छ । यस्तै चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको लगत सङ्कलनको कार्यलाई समेत अगाडि बढाएको छ । यसैगरी चन्द्रागिरि वाणिज्य सङ्घ चन्द्रागिरि चेम्बरले प्रत्येक वडामा मास्क वितरण गरेको छ । बजारमा मास्कको अभाव भइरहेका बेला चन्द्रागिरि चेम्बरले चन्द्रागिरि नगरपालिकामा तीन हजार थान मास्क वितरण गरेको हो । चेम्बर चन्द्रागिरिका अध्यक्ष रामनारायण घिमिरेले विपन्न जनतासम्म मास्क पु¥याउने उद्देश्यले वडाध्यक्षमार्फत मास्क वितरण गरेको जानकारी दिए । 
चेम्बरले चन्द्रागिरिमा खाद्यान्न, ग्यास, औषधिलगायतका अत्यावश्यक सामग्री अभाव भए सहजीकरण गर्नेसमेत जनाएको छ । चन्द्रागिरिमा हाल १३ स्वास्थ्यचौकी र दुई अस्पताल सञ्चालनमा रहेका छन् । नगरपालिकाले सबै स्वास्थ्य संस्थामा ५० थानका दरले मास्कसमेत वितरण गरेको छ । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाका रुपमा रहेको चन्द्रागिरिमा १५ वडा रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी