- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भारतले नेपाल सरकारलाई कोरोनासँग लड्न १८ प्रकारका औषधि उपलब्ध गराएको छ । भारतले उपलब्ध गराएको २३ टन औषधिमा इन्जेक्सन, डेस्ट्रोज र हाइड्रोक्सिक्लोरोक्विनलगायत छन् ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल उक्त औषधि हस्तान्तरण गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ढकालले कोरोनाविरुद्ध विश्व नै लडिरहेका बेला छिमेकीले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।
मन्त्री ढकालले भने “सङ्क्रमण र जोखिमका हिसाबले नेपालभन्दा भारत अप्ठेरो लडाइँमा रहेको छ । आफूलाई परेको अप्ठेरोका बाबजुत भारतका तर्फबाट नेपालप्रति जे सद्भाव र सदिच्छा राखिएको छ, त्यसप्रति धन्यवाद दिन चाहन्छु ।” कोरोना रोकथाम र नियन्त्रणका लागि स्थापना गरिएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कोषमा नेपालबाट गरिएको योगदानको प्रशंसा गर्दै उनले कोभिड–१९ विरुद्धको लडाइमा रहेको नेपाललाई पहिलो चरणमा यी औषधि उपलब्ध गराइएको बताए ।