
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित भेटिएपछि हतुवागढीसँग सीमा जोडिएका स्थानीय तहका नाकामा कडाइ गरिएको छ । हतुवागढीसँग सीमा जोडिएको रामप्रसाद राई, पौवादुङमा र आमचोक गाउँपालिकाका नाकामा सुरक्षा व्यवस्था कडाइ गरिएको हो ।
पौवादुङमा गाउँपालिका–६ ठूलोदुङमा र हतुवागढी गाउँपालिकाको होम्ताङको सिमानामा पर्ने मार्ताङ नाकामा सुरक्षा व्यवस्थामा कडाइ गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । त्यस्तै मार्ताङ नाकासँगै र धनकुटासँग सीमा जोडिएको अँधेरीघाट नाकामा क्वारेन्टाइन निर्माण गरिएको र कोही सुरक्षाकर्मीको आँखा छलेर लुकीछिपी गाउँपालिका प्रवेश गरेको पाइएमा २१ दिनसम्म सीमाको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरेर मात्र गाउँपालिकामा प्रवेश गर्न दिइने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । राईले आफ्ना नागरिकलाई जहाँ छन् त्यहाँ सुरक्षितरुपमा बस्न अनुरोध गर्दै गाउँपालिकाभित्र पनि आवतजावतमा पूर्णरुपमा बन्द गरिएको बताए ।
अध्यक्ष राईले भने, ‘हाम्रो सीमा जोडिएको स्थानीय तहमा कोरोना पुष्टि भइसकेको छ, अब हामी अझ सचेत हुने अवस्था आएको छ, यसर्थ हतुवागढी गाउँपालिकासँग सीमा जोडिएका क्षेत्रबाट आवतजावतमा कडाइ गरेका छौँ भने गाउँपालिकाका नागरिकलाई अन्य क्षेत्रमा जान पूर्णरुपमा बन्द गरेका छौँ, गाउँपालिका बाहिर रहेका आफ्ना ठाउँका नागरिकलाई गाउँपालिकाले राहतको व्यवस्था मिलाएको छ ।’
सुरक्षाकर्मीसँगै सबै वडाका स्थानीय युवा सीमा नाकाको सुरक्षामा रहेको अध्यक्ष राईले जानकारी दिए । ‘सुरक्षाकर्मीसँगै स्थानीय युवा आफैँ आफ्नो ठाउँको सुरक्षामा लागेका छन्, मध्यपहाडी लोकमार्ग पनि हाम्रो स्थानीय तह हुँदै जाने भएकाले त्यहाँ पनि कडाइ गरिएको छ, कतिपय अवस्थामा एम्बुलेन्सको प्रयोग गरेर मानिसहरु ओसार–प्रसार गरेको सुनिएको साथै ढुवानीका साधनले पनि मानिस ओसारप्रसार गरेको पाइएकाले त्यसो नगर्न हामीले अनुरोध गरेका छौँ, त्यस्तो भेटिएमा कारवाहीको दायरामा ल्याइने छ’, अध्यक्ष राईले भने ।
भोजपुरमा एक जनामा कोरानाको पुष्टि
भोजपुरमा पनि कोरोना भाइरसका एकजना सङ्क्रमित भेटिएको पुष्टि भएको छ । भोजपुरको हतुवागढी गाउँपालिकाका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीका अनुसार गत फागुन ३० मा साउदी अरबबाट आएका ती युवकमा कोरोना पुष्टि भएको हो । भोजपुरमा गरिएको आरडिटी परिक्षणमा कोरोना देखिएपछि स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा लगिएको थियो । उनलाई धरानमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । युवकका परिवारका दुईसहित अन्य तीन जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ । ती युवकलाई आज कोभिड अस्पताल विराटनगर लैजाने जनाइएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्