- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साञ्जेन जलविद्युत आयोजनामा सुरुङमार्गका सबै काम सकिएका छन् । आयोजनाले अब पेनस्टक पाइप जडानको काम सुरु गर्ने भएको छ । आयोजनाको कुल हेड १०५० मिटर रहेको छ । त्यो मध्ये करिब ५०० मिटर इन्क्लाइन्ड भर्टिकल सुरुङ रहेको थियो । हिजो मात्रै सबै सुरुङ खन्ने काम सकिएको छ । साञ्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले भने, लकडाउन सुरु भएपछि केहि समय रोकिएको आयोजनाको काम गृह मन्त्रालयले समन्वय गरेपछि विष्फोटका काम फेरि सुरु गरेका थियौं ।
आयोजनास्थलमा सामान लिन गृहले स्वीकृति दिएपछि लकडाउनकै बीचमा पनि केही सामान आयोजनास्थलमा ल्याएको श्रेष्ठले बताए । पेनस्टक पाइप आयोजना स्थलमा ल्याइसकिएको छ । जडान गर्ने केही उपकरणहरु ल्याउन पहल भइरहेको छ। अब छिट्टै पेनस्टक पाइप जडानको काम सुरु गर्छौ उनले भने ।
४२.५ मेगावाटको आयोजनाको करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जनताको जलविद्युत आयोजनामा समावेश उक्त आयोजनाले चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । लकडाउनका कारण पूर्ण क्षमतामा काम गर्न नपाएपछि आयोजनाको निर्माणमा ढिलाई भइरहेको छ । साञ्जेन जलविद्युत कम्पनीलेनै प्रवर्द्धन गरेको १४.२ मेगावाटको माथिल्लो साञ्जेन आयोजनाको काम भने ९२ प्रतिशत भन्दा बढी सम्पन्न भएको छ ।
दुवै आयोजनामा सुरुङमार्ग छेड्ने काम सकिएको छ। पेनस्टक पाइप जडान गरेसँगै सिभिलतर्फको काम लगभग सकिने श्रेष्ठले बताए । लकडाउन अघिको जसरी सहज रुपमा सामान ढुवानी गर्न नसकेपनि गृहले समन्वय गरेपछि सामान ल्याउन भने नरोकिएको उनले जानकारी दिए ।