Skip to content
LAXMI SUNRISE BANK

लकडाउन उल्लङ्घन गर्नेलाई क्वारेन्टाइनमा राख्ने, खर्च आफैँले व्यहोर्नुपर्ने

अर्थ सरोकार

भद्रपुर । लक डाउनको अवधिभर मेचीनगर नगरपालिकामा अन्यत्रबाट बसोबास गर्ने जो–कोही आएमा नगरले तोकेको क्वारेन्टाइनमा १५ दिनसम्म राख्ने नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकाले बुधबार सूचना नै जारी गरेर बाहिरबाट आएर लकडाउन उल्लङ्घन गरेवापत क्वारेन्टाइनमा बस्नेले खाद्यान्न र सुत्ने बस्ने सामग्रीको व्यवस्थासमेत आफैँ गर्नुपर्ने जनाएको हो ।
“नगरपालिकाले बन्दाबन्दी उल्लङ्घन गरेर क्वारेन्टाइन बस्नेको खर्च व्यहोर्दैन”, नगरप्रमुख विमल आचार्यले भने, “जो बस्छ उसैले आफूलाई चाहिने सबै खर्च व्यहोर्छ ।” दमकपछि बाह्रदशीमा कोरोना भाइरसको सङ्क्रमित भेटिएपछि नगर क्षेत्रमा लकडाउनलाई अरुतिरको भन्दा कडा बनाएको उहाँको भनाइ छ । मेचीनगर क्षेत्रमा सवारी पास बेगरका मोटरसाइकलसहित कुनै पनि सवारी साधन चलाउन निषेध गरिएको छ । नगरपालिकाले वैशाख १६ गतेसम्म जारी गरेका सबै सवारी साधनको अनुमति (पास) खारेज गरिएको नगरपालिकाको सूचनामा उल्लेख छ ।
तरकारी, फलफूल, दूध र माछामासु मेचीनगर बाहिरबाट ल्याएर बेच्नसमेत मेचीनगर नगरपालिकाले प्रतिबन्ध लगाएको छ । अत्यावश्यक खाद्य सामग्री तथा सागसब्जी खरिद बिक्रीका लागि बिहान ६ देखि ११ बजेसम्मको समय नगरपालिकाले तोकेको छ । त्यसैगरी, औषधि खरिद र अत्यावश्यक ढुवानीका साधन सञ्चालनको समयसमेत बिहान ६ देखि ११ बजेसम्म तोेकिएको छ । सहकारी संस्थाहरुले निक्षेप फिर्तासमेत घरै पुगेर गर्नुपर्ने र अति आवश्यक काममा सवारी पास चाहिएमा नगर क्षेत्रभित्र लागू हुने गरी दिइने नगरपालिकाको निर्णयमा उल्लेख छ । रासस
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK