×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लकडाउन’ प्रभाव : तीन सातापछि म्याग्दीका जलविद्युत् आयोजनाहरुको निर्माण कार्य सुरु

अर्थ सरोकार

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार

PRIME CA

‘लकडाउन’ प्रभाव : तीन सातापछि म्याग्दीका जलविद्युत् आयोजनाहरुको निर्माण कार्य सुरु

  • रासस 
म्याग्दी – कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण रोकिएको म्याग्दीका जलविद्युत् आयोजनाहरु करिब तीन सातापछि निर्माण शुरु भएका छन् । स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, समुदाय र ठकेदार कम्पनीसँग समन्वय गरी सुरक्षाका उपाय अपनाएर करिब दुई सातापछि जलविद्युत् आयोजना निर्माणलाई अघि बढाइएको हो ।
निर्माण सामग्री, उपकरण, इन्धन र मजदुर भएका जलविद्युत् आयोजना निर्माणलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । “मजदुर र सामग्री भएका आयोजनालाई सञ्चालन गराएका छौँ”, उहाँले भन्नुभयो, “निर्माण सामग्री र कच्चा पदार्थ आयातका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरेका छौँ ।” उहाँका अनुसार ४० मेगावाट क्षमताको राहुघाट, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला र १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणलाई निरन्तरता दिइएको छ । दुई सय २० केभी क्षमताको दाना सवस्टेशन र प्रसारण लाइन आयोजनाले पनि रोकिएको कामलाई निरन्तरता दिन लागेको छ ।
नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सवस्टेशन र प्रसारण लाइन वैशाख महिनाभित्र चार्ज गर्ने तयारी छ । स्थानीय सरोकारवाला र समुदायको सहमतिमा आयोजनाको काम सञ्चालन गरिएको प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रोका प्रशासकीय अधिकृत मदन गिरीले जानकारी दिनुभयो । भारतीय ठेकेदार कम्पनी जयप्रकाश (जेपी) एशोसिएट्सका ५०० मजदुर आयोजनामा परिचालित छन् । चैत ११ देखि करिब तीन हप्तासम्म आयोजनाको काम रोकिएको थियो । काम नहुँदा मजदुर क्याम्पमा बसेका थिए ।
“मजदुर, उपकरण र निर्माण सामग्री भएकाले समुदायमा असर नपुग्ने गरेर सुरक्षा सतर्कता अपनाएर काम अघि बढाएका हौँ”, रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले भन्नुभयो, “प्रशासन, सुरक्षा निकाय, गाउँपालिका, ठेकेदार र समुदायसँग समन्वय गरेका छौँ ।” अन्नपूर्ण गाउँपालिकाको नारच्याङ स्थित ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेट, ४२ मेगावाटको मिस्त्री, १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् । रघुगङ्गा गाउँपालिकामा ३७.५ मेगावाटको राहुघाट मङ्गले जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण भइरहेको छ । 
मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना, डाँडाखेत र रातोढुङ्गा सवस्टेशन निर्माणाधीन छन् । धवलागिरि गाउँपालिकामा ५० मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण भइरहेको छ । मजदुर, प्राविधिक र कर्मचारी घर गएकाले निलगिरिखोला जलविद्युत्को काम भने रोकिएको छ । निर्माणको अन्तिम चरणमा रहेको मिस्त्रीखोलाको बाँध, टनेल, पेनस्टक परीक्षण र पावरहाउसमा उपकरण जडान भइरहेको छ । बेनी–जोमसोम, पोखरेबगर–घार, बेनी–दरवाङ, रत्नेचौर–बेनी सडक आयोजनाको काम भने रोकिएका निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीले बताउनुभयो । सडक, सिँचाइ, नदी नियन्त्रण र भवनका योजनामा काम गर्ने धेरै मजदुर घर गएका छन् । 
१३० जनाको द्रुत परीक्षण
म्याग्दीमा १३० जनाको कोरोना भाइरसको द्रुत परीक्षण (¥यापिड टेष्ट) भएको छ । कोरोनाको सङ्क्रमण फैलिएका देशबाट नेपाल आएकामा कोरोनाको सङ्क्रमण हुनसक्ने भएकाले प्रवासबाट आएकाहरुमा द्रुत परीक्षण गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । शनिबार बेनीबाट शुरु गरिएको द्रुत परीक्षण बुधबार सकिएको हो । 
म्याग्दीका छ वटै पालिकामा द्रुत परीक्षण गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । “छ स्थानीय तहमा पुगेर विदेशबाट आएका र शङ्कास्पद व्यक्तिको द्रुत परीक्षण सकिएको छ”, उहाँले भन्नुभयो, “परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।” बेनी नगरपालिकामा ३५, मालिका गाउँपालिकामा १२, धवलागिरिमा सात, मङ्गलामा २६, अन्नपूर्णमा १० र रघुगङ्गामा ३९ जनाको परीक्षण गरिएको थियो । स्वास्थ्य कार्यालय र बेनी अस्पतालका चिकित्सक तथा प्राविधिकको टोली बेनी, दरवाङ, बाबियाचौर, पोखरेबगर र मौवाफाँट पुगेर परीक्षण गरेका थिए । 
अहिलेसम्म म्याग्दीबाट पठाइएको ११ जनाको स्वाब परीक्षणको रिपोर्टसमेत नेगेटिभ नै आएको छ । अभियानमा छुटेका र शङ्कास्पद बिरामीलाई बेनी अस्पतालमा परीक्षणको व्यवस्था मिलाइएको छ । परीक्षणमा कोरोना नभएको पुष्टि भए पनि सरकारको कार्यविधिबमोजिम नमूनाको रूपमा ११ जनाको स्वाब परीक्षणका लागि गण्डकी प्रदेश सरकारमातहतको परीक्षण केन्द्रमा पठाइएको छ । चैत महिनायता भारत, खाडी, एशियाली र युरोपका देशबाट आएकालाई १५ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको थियो । 
एकान्तवासमा बसेकाको स्वास्थ्यमा समस्या नदेखिए पनि सम्भावित जोखिमलाई आँकलन र सुरक्षित बनाउन परीक्षण गरिएको हो । प्रदेश सरकारले एक महिनायता नेपाल आएका प्रदेशभरका ३७५० को द्रुत परीक्षण गर्ने जनाएको छ । म्याग्दीमा कोरोना सङ्क्रमण भित्रिन नदिन बन्दाबन्दीलाई प्रभावकारी बनाइएको र नाकामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । “द्रुत परीक्षण गरिएपछि एक किसिमको शङ्का हटेर अहिलेसम्म जिल्लाा सुरक्षित रहेको ठहर गरेका छौँ”, उहाँले भन्नुभयो, “अबको रणनीति कोरोना भित्रिन नदिनेमा केन्द्रित हुनेछ ।”
म्याग्दी उद्योग वाणिज्य सङ्घ र लायन्स क्लब अफ बेनी पिस सिटीले क्लोरिन र छर्किने उपकरणको व्यवस्था गरेका छन् । स्थानीय तहले विपन्नलाई खाद्यान्न राहत वितरण गरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: