
काठमाडौं – काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जोर्न नसक्ने श्रमिक, मजदुर एवं विपन्न वर्गका लागि राहत वितरण शुरु गरेका छन्। राहत वितरण शुरु गरेसँगै मजदुर एवं विपन्न वर्गका नाममा गलामा तीन तोला सुनको सिक्री लगाउनेहरु पनि लाममा बसेको वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए। मजदुर एवं विपन्न वर्गका मानिसको स्पष्ट परिभाषा र तथ्याङ्कसमेत नहुँदा यस्तो समस्या आउने गरेको उनले सुनाए। सम्पन्न मानिससमेत पाँच किलो चामल लिन लाममा बस्ने गरेका छन्।
‘मजदुर, विपन्न, असक्तलाई राहत दिने भनिएकामा हुनेखानेहरु पनि लाममा बसे, तपाइँहरु किन लाममा भन्दा खान पाइएन भन्छन्, सामान किन्न नपाएको भए पसललाई भनिदिन्छु भन्दा पनि राज्यले दिएको सुविधा हो भन्दै पाँच किलो चामल बोकेर हिँडे, भूकम्पका बेला हुनेखाने एवं घरमा क्षति नभएकाले पनि राहतको त्रिपाल बोकेर हिँडेजस्तो अवस्था आएको छ,’ अध्यक्ष तिवारीले भने।
कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनमा वितरण गरिएको राहत निजी कार चढेर सुकुम्बासी बस्तीमा बसेजस्तै भएको छ। ठमेल, लैनचौर, गोङ्गबु नयाँबसपार्कजस्ता क्षेत्र पनि पर्ने वडामा मजदुरका नाममा राहत लिन लगत संकलनका लागि नाम लेखाउनेको पनि उपस्थिति हुने गरेको छ। वडाले ठमेल क्षेत्रमा ठमेल पर्यटन विकास समितिको सहयोगमा ३० जनालाई राहत दिइसकेको छ। बाँकीको तथ्याङ्क बिहीवार दिउँसोसम्म संकलन गरी बेलुकीदेखि नै राहत वितरण गर्ने तयारी भइरहेको छ।
पर्यटकीय क्षेत्र ठमेलसमेत पर्ने वडाका अधिकांश भाग सुनसान छन्। विदेशी पर्यटकलाई सरकारले नै स्वदेश फर्काउने नीति लिएपछि ठमेल क्षेत्र सुनसान भएको हो। यसैगरी नयाँबसपार्क क्षेत्रमा पनि लकडाउनको पालना सोचेभन्दा राम्रो भएको वडा कार्यालयले जनाएको छ।
यसैगरी महानगरपालिका–६ ले चैत १७ गतेदेखि नै विपन्न वर्गलाई राहत वितरण गरेको छ। १७ गते ५०, १८ गते ९६ जना मजदुर वर्गलाई राहतस्वरुप चामल सात किलो, दाल दुई किलो, चिउरा दुई किलो, तेल एक लिटर, नून एक प्याकेटलगायत राहत सामग्री वितरण गरिएको वडाध्यक्ष दीपेन्द्रकुमार लामाले सुनाए।
विपन्न वर्गलाई राहत वितरणका लागि संविधानसभाका सभासद् विमल केडिया, ओम साई संमठनलगायत दाताले सहयोग गरेको वडा कार्यालयले जनाएको छ। दाताकै सहयोगमा आज २६० जनालाई राहत दिन लागिएको जानकारी पनि उनले दिए। वडा नम्बर ६ मा भने अहिलेसम्म मजदुर वर्ग नै राहतका लागि आइरहेको जनाइएको छ।
काममा जान नपाएकाले ज्याला नपाउँदा बिहान बेलुका खान पाइएन भन्दै मजदुर वर्ग वडा कार्यालयमै लाममा बस्ने गरेका छन्। लकडाउनका कारण अत्यावश्यक बजार पसलसमेत राम्रोसँग नखुल्दा पैसा हुनेले पनि किनेर खान नपाएको गुनासो वडा कार्यालयमा आउन थालेको छ। त्यस्तालाई पसलको सम्पर्क नम्बर दिएर पठाउने गरिएको छ।
राहत वितरण गर्दा कम्तीमा पनि तीन फिटको शारीरिक दूरी कायम गरी एक पटकमा पाँच सात जनालाई मात्र राहत दिने गरिएको छ। सरकारले मजदुर वर्गलाई राहत दिन स्थानीय तहलाई निर्देशन दिएको थियो। अरू बेला विदेशी पर्यटकको भिडभाड हुने वडाको बौद्ध क्षेत्र पनि लकडाउनका समयमा सुनसान छ।
वडा नम्बर १४ ले भने महानगरपालिकाले निर्णय गर्नुअघि नै श्रमिक वर्गलाई राहत वितरण शुरु गरेको थियो। फलफूल, तरकारी बजारका मजदुर र सुकुम्बासी बस्ती पनि वडामा रहेकाले धेरैले खान नपाएको गुनासो गरेपछि महानगरपालिकाले निर्णय गर्नुअघि १७५ जना श्रमिकलाई राहत दिइएको वडाध्यक्ष शोभा सापकोटाले बताए। त्यसबेला एक परिवारलाई १० किलो चामल, एक किलो दाल र एक किलो नुन वितरण गरिएको थियो। चैत १८ गते वाग्मती किनारको सुकुम्बासी बस्तीका ४०० परिवारलाई राहत वितरण गरिएको थियो।
राहत वितरणका लागि वडामा सुरक्षा निकायको समेत सहभागितामा सर्वदलीय समिति गठन गरिएको जानकारी पनि उनले दिए। राहतको चामल लगी बेचेर रक्सी खानेका लागि भने वडाले कुम्भेश्वर महादेवस्थानमा निःशुल्क भोजन गराउन शुरु गरेको छ। यस्ता ५० जनालाई आज बिहानदेखि भोजन गराइएको अध्यक्ष सापकोटाले जानकारी दिए। आज लायन्स क्लबको सहयोगमा राहत बाँड्न लागिएको वडा कार्यालयले जनाएको छ।
महानगरपालिकाले मजदुरलाई तीन वर्गमा बाँडेर राहत वितरण गर्ने निर्णय गरेको थियो। परिवारमा एक जना हुनेलाई चार किलो चामल, एक किलो दाल, दुईदेखि चार जना हुनेलाई १२ किलो चामल, दुई किलो दाल, पाँच जनाभन्दा माथि हुनेलाई १६ किलो चामल र दुई किलो दाल दिने मापदण्ड बनाएको थियो।
यसैगरी नुन भने परिवारसंख्या जति भए पनि एक किलो दिने महानगरपालिकाको नीति छ। यो नीति ३२ वटै वडामा लागू भएको छ। सहयोग गर्न चाहने संघसंस्थालाई वडाको नेतृत्वमा एकद्वार प्रणालीबाट गर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ।
-सांकेतिक तस्विर
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्