×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सन्तोष मुडभरिलाई खुलापत्र, ‘चामल नलुकाउनू, नडराउनू, तर नेता भएर डन बन्ने दुष्प्रयास नगर्नू’

नेता सन्तोष मुडभरिज्यू नमस्कार !
माफ गर्नुहोला, आज तपाईंलाई आदरणीय नेताज्यू नमस्कार भन्न आँट आएन । किन कि तपाईंले आज देखाउनुभएको हर्कतले सायद मजस्तै धेरैले तपाईंलाई ‘आदरणीय’ भन्न छोडिसकेको हुनुपर्छ । धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष आफैंमा गरिमामय पद हो । किनकि तपाई जनताको प्रतिनिधि हो । तर समाचारको विषयलाई लिएर रेडियो धनगढीको कार्यालय घेराउ गर्नुका साथै पत्रकार नवराज धानुकलाई हातपातको प्रयास गर्ने जुन रबैया देखाउनुभयो त्यसले तपाईंले लगाउने लोकतन्त्रको नारालाई जिग्यायो आज । नमज्जासँग गिज्यायो । र त आज सम्पूर्ण लोकतन्त्रप्रेमीहरु तपाईंको विपक्षमा छन् । किनकि तपाईंले संघीय लोकतान्त्रिक गणतन्त्र भएको देशको एउटा संचारमाध्यममा गुण्डागर्दी शैली देखाउनुभयो ।
चामल नलुकाएको भए किन हातपातमा उत्रिएको ?
तपाईंले चामल लुकाएर राख्नुभएको जनताले आरोप लगाए । त्यहि आरोपका बारे पत्रकार बोले । अडियोमा सबै कुरा स्पष्ट खुल्यो । तर तपाईं किन हातपातमा उत्रिनुभयो ? समाचारमा चित्त नबुझे कानुनी बाटो थियो । तपाईं नियामक प्रेस काउन्सिलमा उजुरी गर्न सक्नुहुन्थ्यो । त्यहाँबाट पनि चित्त नबुझे अदालत जान सक्नुहुन्थ्यो । तर तपाईंले गल्ती लुकाउन खोजेझैं, राणा शासनका बेला जहानियाँहरुले कुटेरै तह लगाउँछु भनेझैं, हिटलरले मारेरै सिध्याउँछु भनेँझैं लाग्नुभो । सबैलाई थाहा छ, यो नेताको चरित्र होइन, हुनै सक्दैन । तपाईं अहिले जुन रवाफमा वडा अध्यक्ष हुनुहुन्छ, त्यो रवाफ दिने समय ल्याउन, राजतन्त्र फाल्न मिडियाको भूमिका के थियो ? बुझ्नुहुन्छ ? अहँ तपाईंले बुझ्न नै चाहानुभएन ।
कति कक्षा पढ्नुभएको छ त मलाई थाहा भएन, तर अक्षर चिन्नुहुन्छ भने नेपाल पत्रकार महासंघ, र रेडियो धनगढीले जारी गरेका विज्ञप्तिहरु पढ्नुहोला । तपाईंले चामल नलुकाएको भए र त्यसलाई खण्डन गर्नुभएको भए मिडिया गलत साबित हुन्थ्यो । तर जनताले एकातर्फ तपाईंलाई आरोप लगाउनु र तपाईं गुण्डागर्दी पारामा उत्रनु भनेको तपाईंले आफ्नो कमजोरी घुमाउरो पारामा स्वीकार्नुभएको छ भनेर बुझ्ने जनताहरु पनि छन् । कतै न कतै यहि बुझाई यथार्थताको नजिक हुन सक्छ । तपाईंले चामल लुकाउनुभएको भए त्यो अपराध नै भयो, नलुकाएको भएपनि चामल लुकाएको भन्दा पनि ठुलो बेइमानी गर्नुभयो लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति धज्जी उडाएर । चुनाव त अर्को पटक पनि आउँछ नेताजी, तपाईंले निष्ठाको राजनीतिमा ठुलो दाग लगाउनुभयो । 

अहँ अलिकति पनि सेलाउने छैन ‘तातो बहस’
कलम भाँचेर, माइक खोसेर, मुख टालीदिएर, औंला भाँचिदिएर आवाज र विचारहरु गल्दैनन् । तातो बहस रतिभर सेलाउने छैन । बरु चामल लुकाएको भन्ने थाहा पाएको भनेर रेडियोलाई खबर गर्ने जनताको भोको पेटलाई न्याय गर्न अझ तातो बनेर आउनेछ तातो बहस । यो एउटा रेडियोको कुरामात्र होइन । नवराज धानुक एउटा पात्र मात्रको कुरा पनि होइन, तपाईंले जनताको आवाजमा लात्ती बजार्ने दुष्प्रयास गर्नुभयो । चुनाव धेरै टाढा छैन नेताजी, एक पटक औंला भाँचेर बर्ष गन्नुहोस् ।
अर्कोतर्फ देश लकडाउनमा छ । तपाईंलाई त कारवाही हुनुपर्ने हो । यस्तो बेलामा कार्यकर्ताहरुलाई मान्छे कुट्न पठाउनुभो । रमिता गर्नुभो, रमिता हेर्न जनतालाई घरबाट निस्कन बाध्य बनाउनुभो । हद गर्नुभो नेताजी, गलत गर्नुभो । नेपाली काग्रेसकै खिल्ली उडाउनुभो । राहत वितरणमा भ्रष्टाचार गरेको भन्ने रिपोर्ट आज बिहान तातो बहसमा बजेपछि तपाईंका कार्यकर्ताले जे गरे, त्यसको जति भ्रत्सना गरे पनि पुग्दैन । तपाईं जनताले चुनेको नेता हो, व्यापारीले चुनेको डन होइन, नेता भएर नेता नै बन्न खोज्नुहोस् । तपाईंका प्रहारभन्दा जनताका आवाजहरु शक्तिशाली छन्, चेतना भया ।
सुरज प्याकुरेल
काठमाडौँ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: