×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यास नगरपालिकाको निर्णय १० दिन पनि टिकेन : वाग्मती र गण्डकी प्रदेशको तरकारी भित्रन दिने निर्णय

अर्थ सरोकार

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलवार

PRIME CA

व्यास नगरपालिकाको निर्णय १० दिन पनि टिकेन : वाग्मती र गण्डकी प्रदेशको तरकारी भित्रन दिने निर्णय

तनहुँ । तनहुँको व्यास नगरपालिकाले गरेको एउटा निर्णय १० दिन पनि टिक्न नसकेर सच्चिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि जिल्ला बाहिरका तरकारी नगरपालिकामा भित्रिन रोक लगाउने नगरपालिकाको निर्णय १० दिनमै सच्चिएको हो ।
नगरपालिकाका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मीरा जोशीको संयोजकत्वमा सोमबार (हिजो) सम्पन्न बैठकले यसअघिको निर्णयलाई सच्याउँदै गण्डकी र वाग्मती प्रदेशमा उत्पादित तरकारी नगरपालिका क्षेत्रमा भित्रिन दिने निर्णय गरेको हो । यही वैशाख ६ गते नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले जिल्ला बाहिरका तरकारी आयात गर्न रोक लगाएको थियो ।
बजारमा तरकारीको आपूर्तिमा कमी देखिएको भन्ने गुनासो आएकाले अर्को व्यवस्था नहुँदासम्म तनहुँबाट उत्पादन हुने तरकारीलाई प्राथमिकतामा राख्दै गण्डकी र वाग्मती प्रदेशबाट उत्पादित तरकारी पनि नगरपालिका प्रवेश गर्न दिने निर्णय गरिएको उपप्रमुख जोशीले जानकारी दिए । उनका अनुसार सोबाहेक अन्यत्रबाट आएको तरकारी भने प्रवेशमा रोक लगाइएको छ । ‘जिल्लाभित्र उत्पादित तरकारीलाई प्राथमिकता दिन र सङ्क्रमण क्षेत्रबाट आउने तरकारीलाई प्रवेश निषेध गर्ने निर्णय भएको थियो’, जोशीले भने, ‘बाहिरबाट तरकारी नआउँदा बजारमा तरकारीको आपूर्ति कमी भएको गुनासो आएपछि गण्डकी र वाग्मतीको तरकारी पनि ल्याउन खुला गरेका छौँ ।’ जोशीका अनुसार गण्डकी र वाग्मती प्रदेशका जिल्लामा उत्पादित तरकारी नगर क्षेत्रभित्र आयात गर्दा उत्पादनको प्रमाण भने देखाउनुपर्नेछ ।
सोही बैठकले जिल्लामा आउने फलफूल नेपाल बाहिरबाट आउने र उक्त फलफूल सङ्क्रमण क्षेत्रबाट आउने बुझिएकाले तनहुँ बाहिरबाट आउने फलफूललाई भने पूर्णरूपमा निषेध गरेको छ । ‘नगरवासीको स्वास्थ्य संवेदनालाई ध्यानमा राखेर बाहिरबाट फलफूल आयातमा पूर्ण रोक लगाइएको छ, हाल बजारमा रहेको फलफूल वैशाख १७ गतेसम्म बिक्री वितरण गर्न दिने निर्णय भएको छ’, जोशीले भने ।
बजारमा तरकारी, फलफूललगायतका अत्यावश्यक वस्तुको आवश्यक मूल्यवृद्धि, हरेक पसलमा फरक(फरक मूल्यदर रहेको पाइएकाले सम्पूर्ण पसलमा हरेक दिनको प्रत्येक सामानको मूल्यसूची अनिवार्यरूपमा राख्न व्यवसायीलाई सचेत गराइएको छ । अनिवार्यरूपमा मूल्यसूची नराखे अनुगमन गरेर नियमानुसार कारवाहीको प्रक्रिया अगाडि बढाइने नगरपालिकाले जनाएको छ ।
बैठकमा नगरप्रमुख न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, प्रहरी नायब उपरीक्षक लीलाराज लामिछाने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तनहुँका प्रमुख, तरकारी व्यवसायी लगायतको उपस्थिति थियो । बैठकमा कोभिड(१९ रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीका सन्दर्भमा तरकारी तथा फलफूल र अन्य उपभोग्य वस्तुको अभाव हुन नदिनका लागि सुरक्षित तवरले कसरी सहज र सर्वसुलभ मूल्यमा व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे छलफल भएको नगरपालिकाले जनाएको छ । रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: