भोजपुर । केही दिनअघि सिमाना जोडिएका दुई छिमेकी जिल्लामा कोरोना पुष्टि भएपछि भोजपुरमा सतर्कता बढाइएको छ । जिल्लालाई प्रत्यक्षरूपमा तराईसँग जोड्ने धनकुटासँगै अर्को छिमेकी जिल्ला खोटाङमा पनि कोरोनाका बिरामी फेलापरेसँगै सतर्कता बढाइएको हो ।
धनकुटामा कोरोना पुष्टि भएपछि त्यस क्षेत्र हुँदै आउने सवारी तथा ढुवानीका साधनमा समेत उच्च निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । प्रशासनले दैनिक उपभोग्य सामग्री बोक्ने ढुवानीका साधनलाई पास उपलब्ध गराएर सञ्चालन गर्न अनुमति दिएको भए पनि त्यसमा काम गर्ने चालक तथा सहचालकलाई समेत उच्च निगरानीमा राखेर स्वास्थ्य परीक्षण गराइरहेको छ ।
त्यस्तै धनकुटा हुँदै भोजपुर प्रवेश गर्ने प्रमुख नाका अरुण नदीको पुलमा थप सुरक्षामा कडाइ गरिएको छ भने टेम्केमैयुङ गाउँपालिकाको खोटाङसँग सिमाना जोडिएको चखेवाभञ्याङ तथा तावा भञ्याङमा समेत कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।
प्रजिअ पुरीले भने, ‘भोजपुरको छिमेकी जिल्ला धनकुटा र खोटाङमा कोरोना पुष्टि भएपछि यस जिल्लामा झनै जोमिख बढेको छ, हामीले जिल्लाका सुरक्षा व्यवस्थामा झनै कडाइ गरेका छौँ, विशेष गरेर धनकुटा हुँदै दैनिकजसो अत्यावश्यक कामका लागि एम्बुलेन्स, ढुवानीका साधन तथा अन्य सवारीका साधन पनि सञ्चालन गर्नुपर्ने भएकाले सङ्क्रमण फैलिने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक प्रक्रिया अगाडि बढाएका छौं । त्यस क्षेत्रबाट पैदल हिँडेर पनि मानिस भित्रिन सक्ने भएकाले सुरक्षामा निगरानी बढाएका छौँ ।’
प्रशासनले यसअघि वितरण गरेका पासलाई खारेज गर्दै नयाँ पास वितरण थालेको छ । धेरैलाई पास दिँदा समस्या हुने भएपछि प्रशासनले पास वितरणमा कडाइ गरेको हो । हालसम्म सरकारी कार्यालय, पत्रकार, अत्यावश्यक ढुवानीका साधन, निर्माणकार्यमा प्रयोग गरिने ढुवानीका सवारी साधन गरी १३५ वटा मात्र पास वितरण भएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले जानकारी दिए ।
भोजपुरको हतुवागढीका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको भए पनि उनी पूर्णरुपमा निको भएर घर फर्किसकेका छन् । त्यसपछि गरिएका सबै परीक्षण नेगेटिभ आए पनि बढी जनसम्पर्कमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत गरी ६७ जनाको स्वाब सङ्कलन गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।
जिल्लामा मङ्गलबारसम्म ६३८ को आरडिटी, ९२ को स्वाब सङ्कलन गरिएकामा २५ को रिपोर्ट आएको छ । स्वाब सङ्कलन गरिएको ६७ जनाको रिपोर्ट आउन बाँकी छ । जिल्लामा ५२८ क्वारेन्टिन, १३ आइसोलेसन वार्ड निर्माण गरिएको छ भने जसमा १०३ क्वारेन्टिनमा र १६४ होमक्वारेन्टिनमा राखिएको छ ।
भोजपुरमा ८९ वर्षीया वृद्धामा कोरोना आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । युरिक एसिडकी बिरामी वृद्धामा आरडिटी गर्दा पोजेटिभ देखिएको हो । ती वृद्धालाई उपचारका लागि बिहीबार भोजपुरबाट काठमाडौं लगिएको थियो । काठमाडौँमा रहेको मेडिकियर अस्पतालमा आरडिटी गर्दा पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।
वृद्धाको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि उनका परिवारका सात जनाको आरडिटी गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले जानकारी दिए । उनीहरु सबैको आरडिटी रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ । कोरोनाको सङ्क्रमण छरछैन भन्ने पुष्टिका लागि अहिले उनको स्वाब सङ्कलन गरेर परीक्षणका लागि राखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । – रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्