
काठमाडौँ – नेपाली सेनाले कोभिड–१९ का लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन आगामी मङ्गलबार र बुधबार नेपाल वायु सेवा निममका दुई बाइडबडी जहाज चीनको ग्वान्जाओ पठाउने तयारी गरेको छ । स्वास्थ्य सामग्री खरिदका लागि सेनाले द्रुतगतिमा प्रक्रिया अगाडि बढाएको थियो । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट ती सामग्री खरिदका लागि सरकार–सरकार (जिटुजी)मार्फत प्रक्रिया अगाडि बढाएको हो । नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी विज्ञानदेव पाण्डेले निगमको जहाजले झण्डै ३० टन स्वास्थ्य सामग्री ल्याउने जानकारी दिनुभयो । तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हवाई मार्ग र अन्य सामग्री स्थलमार्गबाट ल्याउने तयारी गरिएको जनाइएको छ ।
चीनमा मजदुर दिवसलगायतका सार्वजनिक बिदा भएकाले मङ्गलबार मात्रै निगमको जहाज पठाउने तयारी भएको हो । “हामीले बिदा भए पनि आवश्यक प्रक्रिया मिलाएर सामान ल्याउने वातावरण बनाइदिन आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो । हवाईमार्गबाट कूल ३० टन सामान आयात गर्न सकिए बाँकी रहेका ३१२ टन सामान भने स्थलमार्ग हुँदै नेपाल–चीन सिमाना तातोपानी ल्याइनेछ । ग्वान्जाओबाट हिँडेको सामान सात दिनमा तातोपानी आइपुग्नेछ । सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भइ रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टङ्गो लगाएको थियो ।
सेनाले १० दिन पहिले नै नेपाल राष्ट्र बैंकमार्फत आवश्यक रकम चीन पठाएको थियो । ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको थियो । अत्यावश्यक सामान खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ । त्यसमा ढुवानी भाडा भने जोडिएको थिएन । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको छ ।
चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको हो । कूल ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो । स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको हो ।
दुई देशबीच भएको सम्झौतामा रकम भुक्तानी गरेको एक साताभित्र सबै सामग्री चिनियाँ पक्षले ग्वान्जाओमा जम्मा गरिदिएको छ । यस्तै भन्सार जाँच प्रक्रियाका लागि पनि सहज गरिदिन सेनाले चिनियाँ पक्षलाई आग्रह गरेको छ । बेइजिङस्थित नेपाली दूतावास तथा ग्वान्जाओस्थित महावाणिज्य दूतावासमार्फत पनि चिनियाँ ढुवानीकर्तासँग नियमित छलफल भइरहेको छ । अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउनेभन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटी डिपोमा ल्याउने तवरले कुराकानी भएको छ । चीन सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्राथमिकता दिएको छ । कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै प्रभावित मुलुकमा चीनले स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ ।
प्रवक्ता पाण्डेले महामारीको अवस्थामा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने मुलुकको सूचीमा नेपाल ८१औँ स्थानमा रहे पनि चिनियाँ पक्षले नेपाललाई जतिसक्दो चाँडो आवश्यक सामग्री उपलब्ध गराइदिने बचनबद्धता व्यक्त गरेको पनि जानकारी दिनुभयो । व्यक्तिगत सुरक्षाका सामग्री (पिपिइ), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडकमार्ग हुँदै ल्याउने तयारी गरिएको छ । भारतबाट ५३ प्रकारको औषधि ल्याउने तयारी गरिएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्