पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई लक्षित गरी सरकारले उचित कदम चाल्न माग गरिएको छ । प्रदेशसभाको आजको बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले सीमा क्षेत्रबाट नेपाली भित्रिने क्रमसँगै कोरोना सङ्क्रमण पनि बढिरहेकाले राखिएका क्वारेन्टिन व्यवस्थित गर्नुपर्ने र पिसीआरको दायरा बढाउनु पर्ने माग गरे । सदस्यहरूले भित्रिएका सर्वसाधारणको उचित व्यवस्थापनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले मुलुक कोरोना भाइरसको मारमा परेको बताउँदै भारतबाट आएका सर्वसाधारणको सुरक्षित व्यवस्थापन अहिलेको आवश्यकता भएको बताउनुभयो । क्वारेन्टिन व्यवस्थित बन्न नसकेको उल्लेख गर्दै उहाँले बनाइएका क्वारेन्टिनमा खानपान, शौचालयलगायतका समस्या रहेको बताउनुभयो । कोरोनाको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन स्थानीय तहलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कोरोनाका कारण अर्थतन्त्रमा परेको सङ्कटका साथै विकास निर्माण ठप्प भएकोप्रति गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
अर्का सदस्य कृष्णबहादुर थापाले कोरोनाको रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, निर्माणमा खटिएका मजदुर आदिको परिवारका सदस्यको कम्तीमा एक जनाको पिसीआर परीक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । स्थापित क्वारेन्टिनको स्तर मापन गर्नुपर्नेमा उहाँको जोड छ । प्रदेशसभा सदस्य दोवाटे विश्वकर्माले कोरोनाको त्रासबाट नेपाल अछुतो रहन नसकेको उल्लेख गर्दै अस्पतालहरूलाई सुविधासम्पन्न बनाउँदै परीक्षणको दायरा बढाउनुपर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले गोरखाको उत्तरीभेगका जनता भोकभोकै परेको, मल, बीउ नपाएको भन्दै प्रदेश सरकारको ध्यानकर्षण गराउनुभयो । अर्का सदस्य भगवतप्रकाश मल्लले वालिङको क्वारेन्टिनमा रहेका व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको बताउँदै उनीहरूको प्रभावकारी उपचार हुनुपर्ने बताउनुभयो । सङ्क्रमितको आवश्यकतानुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएर उपचार गर्न उहाँले माग गर्नुभयो ।
प्रदेशसभा सदस्य मनकुमारी गुरुङले बन्दाबन्दीका कारण गण्डकी प्रदेशको पर्यटनमा गम्भीर असर पारेको बताउनुभयो । उहाँले बन्दाबन्दीका कारण ऋण लिएर व्यवसाय सञ्चालन गरिहेका व्यवसायीलाई यसको प्रभाव रहँदासम्म ब्याज मिनाहा गर्न आग्रह गर्नुभयो ।
प्रदेशसभा सदस्य मनबहादुर गुरुङले हालैको बाढीका कारण मादी गाउँपालिकामा पारेको प्रभावबारे ध्यानकर्षण गराउनुभयो । लक्ष्मी सुनारले दलित समुदायका व्यक्तिले अन्तरजातीय विवाह गर्न खोज्दा चौरजहारीमा भएको घटनाबारे ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले हालैको आँधीबेहरीले नवलपुरको गैँडाकोटमा पारेको असरबारे ध्यानार्षण गराउनुभयो । प्रदेशसभा सदस्य मणिभद्र शर्माले वाग्लुङको धवलागिरि अञ्चल अस्पतालमा व्यवस्थापन समितिका अध्यक्षले अपाङ्गता कर्मचारीलाई हाजिर हुन नदिएको प्रति ध्यानाकर्षण गराउनुभयो । -रासस