×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘चिउराकै भरमा नौ दिन पैदल यात्रा, १२ घण्टादेखि बबईमा प्रहरीले थन्क्यायो’ : हर्कबहादुर बुढामगर

GLOBAL IME BANK

‘चिउराकै भरमा नौ दिन पैदल यात्रा, १२ घण्टादेखि बबईमा प्रहरीले थन्क्यायो’ : हर्कबहादुर बुढामगर

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रसुवा । “रसुवा जिल्लाबाट हिँडेको आज नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौँ । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौँ”, डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगरले दुःखेसो पोख्नुभयो । हर्कबहादुरसहित पाँच जनाको टोली गत फागुन अन्तिम साता ज्याला मजदुरीका लागि रसुवा जिल्लाको आमा छेदुङ्मोमा पुगेको थियो । भूकम्प पीडितहरुको घर निर्माण गर्न पुगेको उनीहरुको ज्यालादारी काम दुईसाता नपुग्दै रोकियो । नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि कामविहीन भएको हर्कबहादुरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “लकडाउन खुलेपछि घर फर्कने आश गर्दै करिब दुई महिना बित्न थाल्यो । कमाउने आधार बन्द हुँदा खान बस्न समस्या भयो । बन्दले गाडी पाउन सक्ने अवस्था रहेन । त्यसपछि हिँड्न बाध्य भयौँ । नौ दिनपछि आज आफ्नै प्रदेशको मूलद्वारमा आएका छौँ ।” अर्का मजदुर कर्णबहादुर बुढामगरले नौ दिनसम्म चिउरा र चाउचाउ खाएर मात्र पैदलयात्रा गरेको बताउनुभयो । रासससँग दुःखेसो पोख्दै बुढामगरले भन्नुभयो, “बाटोमा कतै पनि खाना पाइएन । चिउरा र चाउचाउ पनि कठिनले पाउने अवस्था रह्यो ।” यति दुःखका साथ आफ्नै प्रदेशमा पुगेर घर पुग्ने अवस्था असहज भएपछि भने निकै दुःख लागेर आएको उहाँको भनाइ थियो ।
उहाँले सरकारले घर पुर्याएपछि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्ने बताउनुभयो । यता डुङ्गेश्वर गाउँपालिका दैलेखका अध्यक्ष नगेन्द्र मल्लले प्रदेश सरकारले दैलेख–सुर्खेतको सीमा पुर्याएपछि मात्र आफूहरुले बुझ्ने रासससलाई जानकारी दिनुभयो । “हामीलाई बबई नाकाबाट आफैँले ल्याउने अनुमति छैन”, अध्यक्ष मल्लले भन्नुभयो, “यसका लागि कर्णाली प्रदेश सरकारसँग आवश्यक समन्वय भइरहेको छ ।” 
दालभात कस्तो हुन्छ भन्ने भइसक्यो
पोखराबाट हिँडेर सात दिनपछि कर्णाली प्रदेशको बबई सीमानाकामा पुगेका मुगु खत्याड गाउँपालिका निवासी पञ्चबहादुर रावतले पैदल अवधिभर खाना नपाएको गुनासो गर्नुभयो । मजदुरीका लागि पोखरा गएका उहाँले नेपाल सरकारले गरेको लकडाउनले काम गर्ने ठाउँ नै बन्द भएपछि कमाउने आधार सकिएको बताउनुभयो । “कमाएको पैसा यो बीचमै सकियो । त्यसपछि त्यहाँबाट हिँडे”, रावतले भन्नुभयो । दाङ पुगेपछि भने रसुवाबाट फर्केका डुङ्गेश्वर गाउँपालिका दैलेखका साथीहरुसँग भेट हुँदा यात्रा अलि सहज भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो सात दिनको १४ छाक चाउचाउ र चिउरा खाएरै पैदल हिँडिएको छ । दालभात कस्तो हुन्छ भन्ने भइसक्यो । बाटोमा खानबस्न कसैले नदिँदा यात्रा झनै कष्टकर बन्यो ।” कर्णाली प्रदेशका थुप्रै बबई पुग्दा पनि मुगु पुग्ने यात्राको टुङ्गो नलाग्दा घर पुग्ने पिरलोले सताएको उहाँले दुःख व्यक्त गर्नुभयो । गाउँकै स्थानीय क्वारेन्टाइनमा बस्ने भन्दै रावतले सुर्खेत, दैलेख, कालीकोट, बाजुरा भएर मात्र मुगु सकिने भएकोले घरसम्म पु¥याइदिन सरकारलाई आग्रह गर्नुभएको छ । 
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारीले बबई पुग्ने सबै कर्णालीवासीलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको समन्वयमा जिल्ला पठाइने बताउनुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: