
कैलाली । कैलालीको जानकी गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेपछि कैलालीका अन्य स्थानीय तहले सुरक्षा सतर्कता अपनाएका छन् । टीकापुर नगरपालिकाले बाहिरी जिल्लाबाट आउने सबैलाई क्वारेन्टिनमा राख्न हरेक वडामा क्वारेन्टिन स्थापना गरेको छ ।
टीकापुरले यसअघि नौ विद्यालयमा क्वारेन्टिन निर्माण गरेको थियो । शुक्रबार बसेको कार्यपालिका बैठकले बाहिरी जिल्लाबाट आउने नागरिक थेग्न नसकिने भन्दै हरेक वडामा थप एकएक वटा क्वारेन्टिन स्थापना गर्ने निर्णय गरेको हो । “हामीले यसअघि एक हजार नागरिक राख्नसक्ने तयारी गरेका थियौँ”, टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले भन्नुभयो, “बाहिरी जिल्ला तथा भारतबाट आउने नागरिक बढ्ने देखिएकाले थप व्यवस्थापनमा लागेका छौँ ।” हाल नगरपलिकाका क्वारेन्टिनमा १०० भन्दा बढी बसिरहेका छन् । स्थानीय पालिकामा क्वारेन्टिनमा बस्ने खचाखच भरिए पनि उनीहरुको स्वास्थ्य परीक्षण गर्ने किटको भने अभाव छ ।
‘‘क्वारेन्टिनमा बसेका सबैको स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था छैन, बिनापरीक्षण पछि कसरी छाड्ने होला रु”, रावल भन्नुहुन्छ, “प्रदेश सरकारसँग माग गरिरहेका छौँ । सुदूरपश्चिमका सबै जिल्लाका पालिकामा भारत तथा नेपालका अन्य जिल्लाबाट आएकाहरु भरिएका छन् ।”
उता सीमासँगै जोडिएको भजनी नगरपालिकाकाले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरका सबै वडामा क्वारेन्टिन बनाउन थालेको छ । नगरसँग नजिकैको तहमा कोरोना सङ्क्रमित फेला परेसँगै नगरपालिकाले पनि उच्च सर्तकता अपनाउँदै १ देखि ९ वटै वडामा क्वारेन्टिन थप गरिरहेको नगरप्रमुख शेरबहादुर चौधरीले बताउनुभयो ।
भजनी नगरपालिकामा यसअघि पाँच क्वारेन्टिन छन् । भारतसँगै सीमानाका जोडिएको तथा रोगजारीका क्रममा अधिकांश भारतमा रहेकाहरु आउने क्रममा रहेकाले भजनी थप जोखिममा पर्न सक्ने भएकाले सुरक्षा सतर्कता अपनाइएको चौधरी बताउनुहुन्छ । “सतर्कता अपनाउनुका साथै थप क्वारेन्टिन स्थापना गर्न थालेका छौँ”, चौधरीले भन्नुभयो, “जाँचलाई प्राथमिकता दिँदै प्रत्येक क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरेका छौँ ।”
कैलालीकै जोशीपुर गाउँपालिकाले पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै गाउँपालिका प्रवेश गर्ने नाकामा थप कडाइ गरेको गाउँपालिकाका कोरोना फोकल पर्सन नरेन्द्र कठरियाले बताउनुभयो । जोशीपुर गाउँपालिकाले तीन क्वारेन्टिन बनाई आन्तरिक तथा बाह्य क्षेत्रबाट आउनेलाई राख्ने गरेको छ । भारतलगायत अन्य क्षेत्रबाट आएकालाई एक ठाउँमा र नेपाल भित्रबाटै गाउँपालिकामा आएकालाई अर्को स्थानमा राख्ने गरेको छ । पछिल्लो समयमा गाउँपालिकामा पनि आन्तरिक क्षेत्र तथा भारतबाट आउने क्रम बढिरहेको गाउँपालिकाले जनाएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्