Skip to content
LAXMI SUNRISE BANK

एक महिनापछि खुल्यो काँकडभिट्टा नाका, ३० मालवाहक गाडी नेपाल भित्रिए…

अर्थ सरोकार

झापा – झापाको काँकडभिट्टास्थित पूर्वी नाका शनिबारदेखि खुला भएको छ। गत चैत २६ गतेदेखि भारतको पश्चिम ब‌ंगाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटंकी नाका बन्द गरेपछि नेपालतर्फ आयात निर्यात ठप्प भएको थियो।
मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले भारतबाट शनिबार ३० मालवाहक गाडी नेपाल भित्रिएका बताए। उनका अनुसार सीमावर्ती पानीट्यांकीस्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको जानकारी दिएको छ। नेपाल इन्टरमोडल यातायात विकास समिति काँकडभिट्टा सुख्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले शनिबार नेपाल प्रवेश गरेका ३० गाडीमध्ये २५ मा कोइला रहेको र अरु पाँच गाडीको सिल खोल्न बाँकी रहेको बताइन्। उनले २५ मालवाहक गाडी पहिलेदेखि नै भन्सार परिसरमा रहेका जानकारी दिइन्।
कोभिड– १९ को संक्रमण फैलिन थालेको जनाउँदै भारतको पश्चिम बंगाल सरकारले एकतर्फीरुपमा भन्सार बन्द गरेपछि भारतीय मार्ग हुँदै नेपाल आउने अत्यावश्यक मालसामानको आयात रोकिएको थियो। कोलकत्ता बन्दरगाह र सिलगढीमा नेपाली सामान रोकिएको थियो। पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरसमेत विराटनगरको सीमापारि जोगवनी नाकाबाट भित्रिएर झापा आउने गरेका थिए।
भारतीय भन्सार कार्यालयले नेपालबाट खाली गाडी फर्किन नदिने मौखिक जानकारी दिएको जनाउँदै मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले सामान अनलोड गरेपछि ती गाडी कसरी फर्काउने भन्ने विषयमा अन्योल रहेको बताए। खाली गाडीलाई पानीट्यांकी नाकाबाट जान नदिने हो भने नेपालबाट पेट्रोलियम पदार्थ लिन जाने खाली ट्यांकरमा समेत अवरोध पुग्ने उनको भनाइ छ। -रासस
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK