×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुमा उच्च सतर्कता !

PRIME CA

कपिलवस्तुमा उच्च सतर्कता !

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

कपिलवस्तु । जिल्लामा कोरोना भाइरस ( कोभिड-१९) बढ्दै गएपछि उच्च सतर्कता अपनाइएको छ । जिल्लास्तरीय विपत् व्यवस्थापन समितिले अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेसँगै अहिले स्थानीय तहले समेत उच्च सतर्कता अपनाएका छन् । जिल्लाका १० मध्ये अहिलेसम्म आठ स्थानीय तहका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यशोधरा गाउँपालिकामा सबैभन्दा धेरै १२ जनामा संक्रमण देखिएको छ । कपिलवस्तु नगरपालिकामा नौ र कृष्णनगर नगरपालिकाका आठ जनामा संक्रमण पुष्टि भएको छ । 
यस्तै मायादेवी गाउँपालिका र बुद्धभूमि नगरपालिकाका चारचार, विजयनगर गाउँपालिकामा एक, शुद्धोधन गाउँपालिकाका एक र वाणगंगा नगरपालिकाकी एक बालिकामा संक्रमण देखिएको छ । शिवराज र महाराजगञ्ज नगरपालिकामा संक्रमण नदेखिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कपिलवस्तुमा प्रवेश गर्ने र बाहिर जाने अत्यावश्यकबाहेकका व्यक्ति र सवारी साधनलाई पूर्ण रुपमा निषेध गरिएको छ । 
कपिलवस्तुका १४० स्थानमा क्वारेन्टाइन दुई हजार ९०८ शय्या संख्यामा छ । त्यस्तै चार हजार ४२६ जना क्वारेन्टाइनमा छन् । हालसम्म कपिलवस्तुमा ५९३ जनाको स्वाब परीक्षण गरिएको छ । 
 
के भन्छन् पालिका प्रमुख ?
यशोधराको खोरिया गाउँ सबैभन्दा धेरै १२ जनामा संक्रमण देखिएकाले सिल गरिएको गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिनुभयो । यशोधराका अन्तरवडा आवतजावतसमेत पूर्णरुपमा बन्द गरिएको बताइएको छ ।
त्यस्तै कपिलवस्तु नगरपालिकामा भारतबाट आएका नागरिकलाई उच्च निगरानीमा राख्ने र आवतवाजावतमा पूर्ण रोक लगाइएको नगर प्रमुख किरण सिंहले बताउनुभयो । अहिले नगरपालिकाका टोलका नागरिकसमेत सचेत भएकाले बाहिरबाट आउनेलाई प्रवेशमा रोक लगाई तत्काल क्वारेन्टाइनमा पठाउने गरिएको नगर प्रमुख सिंहले जानकारी दिनुभयो । 
कृष्णनगर नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएकाले सावधानी अपनाइएको छ । नगर प्रमुख रजगप्रताप शाहले सबैभन्दा बढी खुला सिमानाका कारण संक्रमित बढेको बताउनुभयो । नगरको ११ वडामा एकबाट अर्कामा आवागमनसमेत बन्देज गरिएको जनाइएको छ । 
मायादेवी गाउँपालिकामा समेत लकडाउनको पूर्ण पालन गरिएको छ । तेत्तीस विद्यालयलाई क्वारेन्टाइन बनाइएको गउँपालिका अध्यक्ष बजरंगी चौधरीले बताउनु भयो । मायादेवीमा आठ सय जना क्वारेन्टाइनमा छन् । गाउँपालिकाको पकडी बढी भीडभाड हुने चौराहा भएकाले त्यहाँ बढी कडाइ गरिएको अध्यक्ष चौधरीको भनाइ छ । 
बुद्धभूमि नगरपालिकामा चार संक्रमित देखिएपछि सतर्कता अपनाइएको नगर प्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो । विजयनगर गाउँपालिकामा एक जनामा संक्रमण देखिएसंँगै सावधानी अपनाइएको अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । विजयनगरमा नगर प्रहरी परिचालन गरी सिमानामा खटाइएको छ । 
त्यस्तै शुद्धोधन गाउँपालिकामा एक संक्रमित देखिएकाले प्रशासनको निर्देशनलाई मानेर सावधानी अपनाइएको गाउँपालिका अध्यक्ष निसार अहमद मुसालमानले बताउनुभयो । वाणगंगा नगरपालिकामा एक बालिकामा संक्रमण देखिएकाले टोलटोलमा सतर्कता अपनाइएको छ ।
त्यस्तै शिवराज नगरपालिकाले कोरोनाविरुद्ध नयाँ रणनीति अपनाएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । नगरपालिकाले यही जेठ २ गतेदेखि लागु हुने गरी औषधि पसल बिहान ७ बजेदेखि साँझ ७ बजे तथा खानेपानी तथा खाना पकाउने ग्यास बिहान १० देखि दिउँसो १ बजेसम्म बिक्रीवितरण मात्र गर्न नियम लागु गरेको छ । नगरपालिकाले पेट्रोल पम्प २४ घण्टा सञ्चालनमा रहने र सोबाहेकका अन्य पसल व्यवसाय यही जेठ ५ गते राति १२ बजेसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
महाराजगञ्ज नगरपालिकामा समेत उच्च सतर्कता अपनाइएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो । नगरमा अहिले भारतबाट सबैभन्दा बढी नेपाली प्रवेश गरेकाले उनीहरुको व्यवस्थापनमा जुटिएको नगर प्रमुख कलामले जानकारी दिनुभयो । नगरपालिकाका क्वारेन्टाइनममा एक हजार १०८ जना छन् । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: