कर्णाली । मुलुकमा कोरोना भाइरस देखापरेको करिब चार महिनापछि कर्णाली प्रदेशमा सोमबार पहिलोपटक सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ पाइएको हो ।
एक साताअघि भारतबाट आएका उनको स्वाबको नमूना सोमबार सुर्खेतमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको थियो । पुनः परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पनि रिर्पोट पोजिटिभ देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण पुष्टि गरेको हो । सङ्क्रमित व्यक्ति अहिले नगरपालिकास्थित क्वारेन्टाइनमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
‘वनवासामै ३५ दिन क्वारेन्टाइन बसेका थिए’
भारतको आगरामा कोल्डस्टोरमा काम गर्ने ती व्यक्ति आगराबाट कोल्डस्टोरकै गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमानाका वनवासासम्म आएका थिए । वनवासामा ती युवा ३५ दिन क्वारेन्टाइनमा बसेको खुलेको छ । क्वारेन्टाइन अवधि पूरा भएपछि भारतीय पक्षले जबर्जस्ती नेपालतिर पठाएपछि ती युवासहित नेपालीलाई स्थानीय तहको समन्वयमा उद्धार गरेर सम्बन्धित नगरपालिकामा पठाइएको थियो । आठबीस नगरपालिका–१ का वडाध्यक्ष पर्वसिंह विश्वकर्माले जेठ १ गते महेन्द्रनगरबाट गाडी रिजर्भ गरी लक्ष्मी माध्यमिक विद्यालय, सात्तलामा बनाइएको क्वारेन्टाइनमा राखेको बताउनुभयो । ती युवासहित ३९ जनालाई एकैपटक उद्धार गरिएको थियो ।
जेठ ३ गते क्वारेन्टाइनमा बसेका सबैको पिसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएको थियो । “उद्धार गरी ल्याइएपछि आरडिटी जाँच गरिएको थियो, त्यसमा रिपोर्ट नेगेटिभ देखिएको थियो”, वडाध्यक्ष विश्वकर्माले भन्नुभयो, “कोरोना पोजेटिभ देखिएको खबर पाएपछि अहिले वडा सिल (बन्द) गरेका छौँ ।” क्वारेन्टाइनमा रहेका ३९ जनाको पिसीआर परीक्षण गर्दा उनको रिपोर्ट मात्रै पोजिटिभ देखिएको थियो ।
आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले नगरपालिका नै सिल गर्ने तयारी गरिरहेको बताउनुभयो । महेन्द्रनगरबाट सिधै बसमा आएकाले समुदायले त्रास मान्नुपर्ने अवस्था नरहेको तर गाडीमा आएका अन्यको ‘कन्ट्याक्ट ट्रेसिङ’ जरुरी रहेको उहाँको भनाइ छ । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक डा रीता भण्डारी जोशीले सङ्क्रमित युवालाई जिल्ला अस्पताल, दैलेखमा रहेको आइसोलेसनमा ल्याउने तयारी गरिएको बताउनुभयो । “स्वास्थ्य अवस्था एकदम ‘नर्मल’ छ, थप समस्या भए दैलेख अस्पतालमा नै भेन्टिलेटर छ, त्यहीँ राखेर उपचार गरिनेछ”, उहाँले भन्नुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्