खोटाङ । कोरोना भाइरसको जोखिम हुन नदिन रावाबेँसी गाउँपालिकाले सीमानाकामा हुने आवत जावतमा रोक लगाएको छ । हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सो गाउँपालिकाले बन्दाबन्दीको अवधिभर सबै प्रकारका गाडी तथा पैदल आवत जावतमा रोक लगाएको हो ।
गाउँपालिकास्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले गाउँपालिकाको सबै नाकाबाट हुने आवत जावत बन्द गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिए । ‘छिमेकी स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएसँगै आफ्नो क्षेत्रमा पनि गाउँपालिकाभित्र सञ्चालित होटल पूर्णरुपमा बन्द गर्न निर्देशन दिइएको छ’, उनले भने, ‘आगामी जेठ १६ गतेसम्म गाउँपालिकाको कार्यालयबाट अत्यावश्यकबाहेकका अन्य कामसमेत बन्द गरिएको छ ।’
बन्दाबन्दीको अवधिभर गाउँपालिकाभित्रका खाद्य पसल दैनिक बिहान ७ देखि ९ बजेसम्म र साँझ ४ देखि ५ बजेसम्म मात्र खुला गरिने जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थानका २० वर्षीय युवक कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि उक्त नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा राजधानी काठमाडौँबाट उद्धार गरेर ल्याइएका हलेसीका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जिल्लामै पहिलोपटक हलेसीमा कोरोना सङ्क्रमित भेटिएपछि सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा अपनाउनुपर्ने सतर्कतालाई कडाइका साथ लागू गरेका छन् ।
कोरोना नियन्त्रण कोषमा १७ लाख
खोटेहाङ गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा रु १७ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न आवश्यक गतिविधि सञ्चालनका लागि गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा शुभेच्छुकदाताबाट रु १७ लाख ४२ हजार ७४० रकम जम्मा भएको हो ।
गाउँपालिकाका ४९ जना गाउँसभा सदस्यबाट प्राप्त भएको रु पाँच लाख ७६ हजार, गाउँपालिकामा कार्यरत सबै कर्मचारीबाट प्राप्त रु ९९ हजार ८६९, शिक्षक तथा कर्मचारीबाट रु दुई लाख ४१ हजार ५९१ रकम कोषमा जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए । यस्तै, युवा नेता राजन बञ्जराबाट रु पाँच हजार १०० र स्थानीय व्यवसायी नारायणप्रसाद फुयाँलबाट रु सात हजार ५०० रकम प्राप्त भएको जनाइएको छ ।
मौज्दात रु तीन लाख १२ हजार ६७९ रहेको विपद् व्यवस्थापन कोषमा आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं १ कोरोना जनसुरक्षा कोषबाट रु पाँच लाख जम्मा भएको जनाइएको छ । महामारीका विरुद्ध सहयोग गरेर हातेमालो गर्न इच्छुक शुभेच्छुक दाताले प्रदान गरेको सहयोग रकम कोषमा अद्यावधिक गर्दै जाने गाउँपालिका प्रमुख प्रदीप राईले जानकारी दिए ।
गाउँपालिकाले गाउँसभाबाट विनियोजन गरिएको विभिन्न योजना तथा कार्यक्रमको रु २९ लाख ४८ हजारसमेत बजेट रकमान्तर गरेको छ । कोरोनाविरुद्धको गतिविधि सञ्चालनका लागि कर्मचारी र पदाधिकारी तालिम तथा अभिमुखीकरण शीर्षकको रु तीन लाख, अवलोकन भ्रमण कार्यक्रमको रु पाँच लाख, न्यायिक समितिको पुर्नताजकी तालिमको रु आठ लाख, सुरक्षित आप्रवासन परियोजना (सामी)को साझेदारी कार्यक्रमको रु ६ लाख ४८ हजार र अध्यक्ष कप भलिबल प्रतियोगिता तथा वार्षिकोत्सवको रु सात लाख बजेट विपद् व्यवस्थापन कोषमा रकमान्तर गरिएको जनाइएको छ ।
विपद्को समयमा विपद् व्यवस्थापन कोषको नाममा खोलिएको खाता नम्बर २०६००३०७०२०००६ मा रकम जम्मा गरेर महामारीबाट प्रत्यक्ष पीडितलाई सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ । जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा विपद् व्यवस्थापन कोष खडा गरेर रकम जम्मा गरिरहेका छन् ।
दश स्थानीय तह रहेको जिल्लामा राजधानी काठमाडौँबाट उद्धार गरेर ल्याइएका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लावासी त्रसित बनेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थानका २० वर्षीय युवक कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि उक्त नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ। – रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्