- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न नसकिने बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले ब्याज मिनाहाको माग आए पनि कार्यान्वयन गर्न सम्भव नभएको पनि बताए । उनले भने ‘ब्याज मिनाहाको माग आइरहेको छ, तर त्यो सम्भव छैन’ ।
उनले व्यवसायीले तिर्नुपर्ने ऋणको भाका भने सार्न सकिने बताए । यता सांसदहरुले पनि नेपालमा बैंक ब्याजदर धेरै रहेको बताउँदै कम गर्नुपर्ने बताएका थिए । जवाफमा गभर्नर अधिकारीले विकसित देशमा भन्दा अल्पविकसित देशमा ब्याजदर बढी नै हुने बताए ।