
बाँके। एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रविन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् । यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जानेगरी नौ जनामा सङ्क्रमण देखिएको थियो । यससँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या आजसम्म ८१ पुगेको छ ।
यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा २४ र वडा नं ७ मा एक जना गरी २५ जनामा सङ्क्रमण देखिएको थियो । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुरमा आज सङ्क्रमित देखिएका अधिकांश नागरिक भारतबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । आइतबार मात्रै नरैनापुर ५ का एक २५ वर्षीय युवकको कोरोनाबाटै निधन भएको थियो ।
श्रेष्ठका अनुसार आज सङ्क्रमण फेला परेका सबै यसअघि भेटिएका आठ सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति हुन् । आठ सङ्क्रमितको सम्पर्कमा आएका आधारमा दुई दिनअघि शनिबार नरैनापुरका विभिन्न वडामा रहेका क्वारेन्टिनबाट सङ्कलन गरिएको स्वाब नेपालगञ्जस्थित भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा परीक्षण गर्दा ४७ जनामा रिपोर्ट पोजेटिभ आएको हो ।
नरैनापुर २ को आदर्श मावि, लक्ष्मणपुरबाट ८७, वडा नं. ५ को दीपेन्द्र प्रावि, भोजभगवानपुरबाट ३९, वडा नं ५ कै नेराप्रावि, हुलासपुरबाट ७२ र वडा नं ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जना गरी २६३ जनाको स्वाब सङ्कलन गरिएको थियो । आइतबार थप ११ जनाको स्वाब सङ्कलन गरिएको श्रेष्ठले बताउनुभयो ।
नरैनापुरबाट सङ्कलित २७४ मध्ये अझै केही स्वाबको परीक्षण बाँकी रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताउनुभयो । “पूरै स्वाबको रिपोर्ट आइसकेको होईन, म बाहिर फिल्डमै भएकोले एक्जाक्ट मलाई पनि थाहा भएन”, उहाँले भन्नुभयो, “सङ्क्रमितलाई व्यवस्थापनको लागि छलफल भइरहेको छ ।”
एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि नरैनापुरमै आइसोलेशन वार्ड तयार गर्ने कि अन्यत्र व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल भइरहेको उहाँको भनाइ छ । यसअघि सङ्क्रमित २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा राखिएको छ भने आठ जनालाई दाङ पठाइएको छ ।
२३ सङ्क्रमितको पुनः स्वाब सङ्कलन !
नेपालगञ्जमा फेला परेका २३ सङ्क्रमितको आज पुनः स्वाब सङ्कलन गरिएको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा तयार गरिएको कोरोना विशेष अस्पतालमा उपचाररत २५ मध्ये समयावधि पुगेका २३ सङ्क्रमितको कोरोना परीक्षणका लागि पुनः स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालगञ्जका पहिलो सङ्क्रमितसहित २३ जनाको स्वाब सङ्कलन गरिएको छ । पछिल्लो पटक सङ्क्रमण भेटिएका दुई पुरुषको समयावधि पुगेपछि पुन परीक्षण गरिने बताउनुभयो । पहिलो सङ्क्रमितको आजसहित तेस्रो पटक स्वाब सङ्कलन गरिएको हो । साठी वर्षीय पहिलो सङ्क्रमितको यसअघि गत हप्ता गरिएको पुनः परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको थियो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्