
फिदिम । पाँचथरमा व्यवसायीले बन्दाबन्दीका समयको घरभाडा छुट गराउन माग गरेका छन् । यहाँका १४० व्यवसायीले सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीका कारण आर्थिक सङ्कटमा परेको भन्दै व्यवसायको घरभाडा छुटको प्रबन्ध मिलाउन माग गरेका हुन् । उनीहरुले पाँचथर उद्योग वाणिज्य सङ्घ, फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीले व्यवसायी व्यवसाय बन्द गर्ने अवस्थामा पुगेकाले उक्त अवधिको भाडा छुट गराउन माग गरेका हुन् ।
बन्दाबन्दीको दुई महिना पूरा हुँदा घरधनीले भाडा माग्ने र नदिए व्यवसाय बन्द गर्न दबाब दिएको उनीहरुको गुनासो छ । विशेषत साना तथा मझौला व्यवसायी बन्दाबन्दीको चपेटामा परेकाले बन्दाबन्दीका समयको भाडा छुट गराउन माग गरिएको व्यवसायी सुनिता केरुङले बताए । “व्यवसायी लकडाउन भन्न पाएका छैनन्। घरभाडा नबुझाइ नहुने, बैङ्कको किस्ता पनि तिर्नै पर्ने अवस्था आएको छ”, केरुङले भने, “धेरै व्यवसायी पलायन हुने स्थितिमा पुगेकाले भाडा मात्रै भए पनि छुट गराउन माग गरेका हौँ ।
कतिपय व्यवसायीलाई जीवन निर्वाहमा समस्या सिर्जना हुन थालेको तथा बैंक तथा वित्तीय संस्थाको ऋण र किस्ता बुझाउन असमर्थ हुँदा व्यवसाय छोड्नुपर्ने स्थिति आएको व्यवसायी लक्ष्मण लावतीको भनाइ छ । व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले व्यवसायीलाई परेको समस्याबारे आफूहरु जानकार रहे पनि सङ्घीय सरकारबाट स्पष्ट नीति नबन्दासम्म स्थानीयस्तरमा ठोस काम गर्न कठिन परेको बताए। उनले नगरपालिकाभित्र बन्दाबन्दीका समयको भाडा छुट गराउन आफूले पहल गर्ने बताए ।
पाँचथर उद्योग वाणिज्य सङ्घका महासचिव नवराज घिमिरे बन्दाबन्दीको प्रभावले कतिपय व्यवसायीले नै व्यवसाय बन्द गरेको बताउँछन् । “घर भाडा, बैंकको ऋण र दैनिकी सञ्चालनमा समस्या पर्दा कतिपयले व्यवसाय नै बन्द गर्नुभएको छ”, घिमिरेले भने । पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल व्यवसायीलाई कर, ब्याजदर र भाडा छुट अत्यावश्यक रहेको बताउँछन् । यहाँका व्यवसायीका गुनासा उद्योग वाणिज्य सङ्घका प्रदेश तथा केन्द्रीय समितिमा समेत राखिएको बताउँदै अध्यक्ष नेपालले सङ्घीय सरकारले स्पष्ट नीति बनाइ व्यवसायीलाई सहयोग गर्नुपर्ने बताए ।
बन्दाबन्दीका समयको घरभाडा छुट गराउँदा घरधनीलाई घरबहाल करको दायरामा ल्याउने अवसरसमेत रहेको नेपालको भनाइ छ । “अहिलेसम्म व्यवसायीले नै घरधनीको घरबहाल करसमेत तिर्नुपर्ने अवस्था थियो । अब घरधनीलाई घरबहाल करको दायरामा ल्याउन भाडा छुटका लागि कुनै मापदण्ड बनाउनैपर्छ”, उनले भने ।
यहाँ धेरै साना तथा मझौला व्यवसायी लकडाउन खुल्नेबित्तिकै व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा छन् । धेरैले आफूकहाँ रहेको सामग्री बिक्री गरिसकेका छन् र व्यवसायको चालू पूँजीसमेत दैनिकी चलाउन खर्च गरिसकेका छन् ।
“भाडा छुट दिएर मात्रै पनि पुग्दैन । लकडाउन खुल्नेबित्तिकै व्यवसाय सञ्चालनमा आउँदैनन्”, अध्यक्ष नेपालले भने, “सामान बिक्री भइसक्यो, सङ्कलित रकमसमेत दैनिकीमा खर्च भयो । अब सरकारले चालू पूँजी सस्तो ब्याजदरमा उपलब्ध गराउनुपर्छ ।” पाँचथरमा पाँचथर उद्योग वाणिज्य सङ्घ तथा सरकारी निकायमा दर्ता भएका झण्डै तीन हजार व्यवसायी छन् । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्