×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोरङको पूर्वाञ्चल विश्वविद्यालयमा बनाइयो स्थायी क्वारेन्टाइन, १३५ जनालाई राख्न मिल्ने

LAXMI SUNRISE BANK

मोरङको पूर्वाञ्चल विश्वविद्यालयमा बनाइयो स्थायी क्वारेन्टाइन, १३५ जनालाई राख्न मिल्ने

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । मोरङको सुन्दरहरैचा-९ गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको हाताभित्र १३५ जनालाई राख्न मिल्ने क्वारेन्टाइन तयार पारिएको छ । प्रदेश १ सरकारले विदेशबाट स्वदेश फर्किने आप्रवासी कामदारहरुलाई एक महिनासम्म राख्न मिल्ने ‘होल्डिङ एरिया’ निर्माणको तयारी पनि अघि बढाएको छ । 
प्रदेश १ मा अहिले पनि कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको निष्कर्षसहित क्वारेन्टाइनस्थल निर्माण गरी तयारी हालतमा राखेको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले भने, ‘पहिलो चरणमा १ सय ३५ जना अटाउने स्थायी क्वारेन्टाइनस्थल निर्माण भइसकेको छ । यसको क्षमता बिस्तारमा पनि प्रदेश सरकार लागेको छ । स्थायी प्रकृतिका क्वारेन्टाइनस्थल निर्माण हुँदै जाने छन् ।’
मन्त्री कार्कीले कोरोनाको जोखिमबाट प्रदेश मुक्त नभइसकेको र बर्खासमेत सुरु हुन लागेकाले गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको भवनमा आइसोलेसनसहित क्वारेन्टाइन निर्माण गरिएको बताए । ठूलो क्षेत्रमा फैलिएको पूर्वाञ्चल विश्वविद्यालयको परिसर चारैतिर पर्खालले घेरिएको छ । केन्द्रीय कार्यालय विराटनगरमा रहेकाले त्यहाँका धेरै भवनहरु निर्माण गरिएको धेरै समयसम्म प्रयोग विहीन अवस्थामा छन् । तिनैमध्येको एउटा ब्लकमा क्वारेन्टाइनस्थल निर्माण गर्ने निर्णय प्रदेश सरकारले गर्दै त्यसको जिम्मा नेपाली सेनालाई दिएको थियो ।
प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालयको हाताभित्रको तीनतले एउटा भवन क्वारेन्टाइन बनाउन उपलब्ध गराएको र सो भवनलाई सरसफाइ गरी एक साताभित्र क्वारेन्टाइन तयार पारिएको नेपाली सेनाका सेनानी सुस्पन कटुवालले जानकारी दिए । क्वारेन्टाइनस्थलको बाहिरी घेरामा नेपाली सेनाले २४ सै घण्टा पहरा दिने व्यवस्था मिलाइएको छ । भित्री घेराको सुरक्षा र निगरानीको लागि १४ वटा सीसी टिभी क्यामेरा जडान गरिएको सेनानी कटुवालले जानकारी दिए ।
त्यसैगरी क्वारेन्टाइनमा बस्नेहरुको स्वास्थ्य उपचारका लागि नेपाली सेनाका दुई जना प्यारामेडिक्सको टिमलाई तयारी हालतमा राखिएको सेनानी कटुवालले बताए । पूर्वाञ्चल विश्वविद्यालयको सोही हाताभित्रै अस्पतालसमेत रहेकाले आवश्यक परेमा समन्वय गरी उपचार गर्ने व्यवस्थासमेत मिलाइएको छ । क्वारेन्टाइन तयार भए पनि अहिलेसम्म त्यहाँ कसैलाई पनि राखिएको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी