×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश २ सरकारले कोरोना नियन्त्रणका लागि २ अर्ब रूपैयाँ खर्च गर्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रदेश २ सरकारले कोरोना नियन्त्रणका लागि २ अर्ब रूपैयाँ खर्च गर्ने

Artha Sarokar

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनुषा । प्रदेश नं २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि दुई अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले दुई अर्ब रुपैयाँ रकम निकासा गरेको हो । चालू आर्थिक वर्ष २०७६,७७ मा प्रदेश सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसबाट कोरोना रोकथाम तथा नियन्त्रण प्रयोजनका लागि दुई अर्ब रुपैयाँ निकासा भएको र सो रकम खर्च भइरहेको आर्थिक मामिलामा तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।
सचिव श्रेष्ठका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्न सामाजिक विकास मन्त्रालयअन्तर्गत ८६ करोड र आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई १० करोड ४५ लाख रुपैयाँ पठाइएको छ । यस्तै लकडाउन प्रभावितलाई राहत बाँड्न उद्योग, पर्यटन तथा वन मन्त्रालयलाई ३३ करोड ७० लाख रुपैयाँ र भूमि व्यवस्था तथा कृषि मन्त्रालयलाई ३६ करोड रुपैयाँ निकासा गरिएको छ ।
त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई एक करोड रुपैयाँ तथा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको चार वटा डिभिजनलाई २५–२५ लाख रुपैयाँका दरले पैसा पठाइएको सचिव श्रेष्ठले बताए । यसबाहेक प्रदेश सरकारले स्थापना गरेको कोभिड–१९ कोषमा रु २५ करोड आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
कोभिड कोषबाट धनुषाको नगराइन नगरपालिकाको गङ्गुलीस्थित क्वारेन्टाइन मर्मतसम्भारका लागि नेपाली सेनालाई ५० लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराएको छ । यसैगरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई औषधि, उपकरण र क्षमता अभिवृद्धिका लागि कोषबाट १० लाख दिइएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्रेष्ठले बताए ।
कोरोना रोकथाम, नियन्त्रण, उपचार काममा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सवारी चालक, पत्रकारलगायत व्यक्तिहरुका ज्यान गएमा ५० लाख क्षतिपूर्ति दिने निर्णय प्रदेश सरकारले गरिसकेको छ । सचिव श्रेष्ठले आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम निकास गरे पनि हालसम्म खर्च भएको विवरण आइनसकेको बताए । “कोरोना महामारीका लागि रकम निकासा गरिएको हो, काम भइरहेको छ ।
चालू आर्थिक वर्षको बजेटबाट रकम निकासा भएकाले जेठ मसान्तसम्म खर्च भएको रकमबाहेक सबै सरकारी कोषमा फिर्ता आउँछ”, श्रेष्ठले भने । कोरोना सङ्क्रमणको जोखिमका हिसाबले प्रदेश नं २ लाई सबैभन्दा बढी संवेदनशील मानिएको छ । भारतसँगको खुला सीमा र वैदेशिक रोजगारमा जानेहरुको सङ्ख्या प्रदेश नं २ बाटै बढी भएकाले यस प्रदेशलाई उच्च जोखिमका रूपमा हेरिएको हो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी