काठमाण्डौ – पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु एक लाख पुरस्कार दिने भएको छ ।
कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था गरेको हो ।
यस्तै चार फुट उचाइ र २० फुट लम्बाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई समेत सोही राशिको पुरस्कार दिइने भएको छ । यस्तै ३५ मन (प्रतिमनमा ४० किलो) भन्दाबढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु २० पुरस्कार दिइने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिनुभयो ।
शुक्रबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले ‘कोरोना सङ्क्रमणबाट उत्पन्न परिस्थितिमा कृषिजन्यउपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि–२०७६’ पारित गरेको थियो । सोही कार्यविधिका आधारमा कृषकलाई उक्त पुरस्कार दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो । यो पुरस्कार आगामी आर्थिक वर्षमा मात्रै लागू हुनेछ । चालू आर्थिक वर्षभित्रै उत्पादन हुने खाद्यान्नको खेती भइसकेकाले आगामी आवबाट लागू हुने गरी पुरस्कार स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यविधिमा एकै परिवारले उक्त परिमाणमा खाद्यान्न उत्पादन गर्नुपर्ने उल्लेख छ । उत्पादनको विश्वसनीयताका लागि छुट्टै अनुगमन समितिसमेत गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो । अधिकांश क्षेत्र खेतीयोग्य जमिन रहेको मिक्लाजुङमा अन्य स्थानीय तहको तुलनामा सिँचाइकोसमेत राम्रो व्यवस्था छ । तर खेतीयोग्य जमिन बाँझिदै गएकाले गाउँपालिकाले प्रोत्साहनको ब्यवस्था गरेको हो । “धेरै खेतीयोग्य जमिन बाँझिएका छन् । गाउँपालिकालाई जोड्न मुख्य सडक निर्माणाधीन अवस्थामा रहेकाले अभाव भएका बेला खाद्यान्न आपूर्ति गर्न पनि कठिन हुन्छ”, प्रमुख प्रशासकीय अधिृकत राईले भन्नुभयो, “यसैले कृषिउपज उत्पादनमा विशेष जोड दिएका हौँ ।”
यही गाउँपालिकाले कोभिड–१९ को महामारी र लकडाउनका कारण खाद्य सङ्कट हुने भन्दै खाद्यान्न प्रयोग गरी मदिराजन्य पदार्थ उत्पादन गर्न रोक लगाएको छ । गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादनका लागि खाद्यवस्तु बिक्री नगर्न स्थानीयवासी तथा व्यवसायीमा अपिलसमेत गर्दै आएको छ । – रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्