×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘क्वारेन्टाइनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याउँछौँ’ – राज्यमन्त्री रामवीर मानन्धर

LAXMI SUNRISE BANK

‘क्वारेन्टाइनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याउँछौँ’ – राज्यमन्त्री रामवीर मानन्धर

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टाइन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टाइन बनाउनेबारे आवश्यक परामर्श थालिएको बताए ।
उनका अनुसार हाल काठमाडौँ उपत्यकामा ५१८ श्यया तयारी अवस्थामा छन् । देशभर भने करीब ६५ हजार क्वारेन्टाइन तयारी अवस्थामा रहेकामा २५ हजार सर्वसाधारण क्वारेन्टिनमा छन् ।
देशभर क्वारेन्टाइनको अनुगमन र सहजीकरणको जिम्मेवारीमा रहनुभएका राज्यमन्त्री मानन्धरले देश सङ्कटमा परेका बेला ठूला होटललाई क्वारेन्टिनका रूपमा व्यवस्थापन गर्न सरकारले पहल थालिरहेको बताउँदै यसमा व्यवसायीबाट आवश्यक सहयोगका अपेक्षा गरे ।
राज्यमन्त्री मानन्धरका अनुसार हाल खाली रहेका होटललाई निश्चित रकम तिरेर सरकारले जनताको जीवनरक्षाका लागि प्रयोग गर्न सक्ने छ । विदेशमा विपद्मा परेका नेपाली नागरिकलाई सरकारले उद्धार गरी ल्याएको अवस्थामा काठमाडौँ उपत्यकामा आवश्यक क्वारेन्टिनका लागि पूर्वतयारी गरिएको बताउँदै खाडी मुलुकमा श्रमका लागि गएका सर्वसाधारण सरकारको प्राथमिकतामा रहेको स्पष्ट गरे । हवाईमार्ग भएर फर्कनेका लागि उपत्यकामा अस्थायी क्वारेन्टिन बनाइने र सम्बन्धित स्थानीय तहमार्फत व्यवस्थापन गरिनेबारे सरकारले छलफल गरिरहेको राज्यमन्त्री मानन्धरले जानकारी दिए ।
केही स्थानमा क्वारेन्टिन व्यवस्थापनमा कमजोरी देखिएको बताउँदै राज्यमन्त्री मानन्धरले तत्काल सुधारका लागि सरकारले आवश्यक समन्वय गरिसकेको जानकारी दिए । क्वारेन्टिन व्यवस्थापनको खर्च सङ्घीय सरकारले व्यहोर्ने बताउँदै राज्यमन्त्री मानन्धरले निर्धक्क भएर व्यवस्थापनमा लाग्न देशभरका स्थानीय सरकारलाई आग्रह गरे ।
कार्यक्रममा अनुगमन तथा सहजीकरणको जिम्मेवारीमै रहेका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सरकारले बनाएको मापदण्ड अनिवार्यरूपमा पालना गर्न स्थानीय सरकारलाई आग्रह गरे दार्चुला, बाँके, बर्दिया, जुम्ला, बाजुरा, पर्सा, कैलाली र कञ्चनपुरलगायत जिल्लामा भारतबाट आउने सर्वसाधारणको व्यवस्थापनमा समस्या देखिए पनि राज्यमन्त्री रावतले व्यवस्थापनमा कमजोरी हुन नदिइने बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले क्वारेन्टिन व्यवस्थापन कार्यविधि पालना गरिएमा समस्या नआउने बताउँदै बजेट व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि अर्थ मन्त्रालयलाई आग्रह गरे । गृह मन्त्रालयका उपसचिव गोमादेवी चेमजोङले क्वारेन्टिनमा बसाइएकाहरुकामा अनुशासनलगायत समस्या देखिएकाले यसको भित्री व्यवस्थापन नेपाली सेनामार्फत गरिए सहज हुने बताए । रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले क्वारेन्टिन व्यवस्थापनका लागि आवश्यक सबै आर्थिक व्यवस्थापन सङ्घीय सरकारले प्रबन्ध गराउने बताए । छलफलमा गृह, रक्षा, सामान्य प्रशासन, स्वास्थ्य र शहरी विकास मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो । – रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी