×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेशमा किट अभाव, कोराना परीक्षण रोकियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुदूरपश्चिम प्रदेशमा किट अभाव, कोराना परीक्षण रोकियो

Artha Sarokar

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भीमदत्तनगर
भीमदत्तनगर – सुदूरपश्चिम प्रदेशमा हुँदै आएको कोरोना भाइरसको परीक्षण बिहीबारदेखि प्रभावित बनेको छ ।
पिसिआर विधिबाट परीक्षणका लागि किट सकिएपछि शङ्कास्पद बिरामीको कोरोना परीक्षण रोकिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट परीक्षणका लागि आवश्यक किट पठाउने कुरो छ”, उनले भने, “आज रातिसम्म आइपुग्ने अनुमान छ ।”
किट अभावकै कारण धनगढीस्थित पशुपक्षी अन्वेषण प्रयोगशालामा केही समयअघि स्थापना गरिएको आरटी–पिसिआर मेशिनबाट कोरोना परीक्षण हुँदै आएको थियो । “किट अभावका कारण प्रयोगशालामा ल्याइएका ५५ वटा स्वाबको नमूना जाँचसमेत हुन सकेको छैन”, सम्पर्क व्यक्ति जोशीले रासससँग भने, “हाल सुदूरपश्चिम प्रदेशमा पिसिआर प्रविधिबाट धनगढीमा मात्रै परीक्षण हुँदै आएको छ ।”
सुदूरपश्चिम प्रदेश सरकारले यहाँको पहाडी जिल्ला बैतडी र डोटीमा समेत पिसिआर मेशिनमार्फत कोरोना जाँच गर्ने निर्णय गरेको थियो । “पहाडका ती दुई जिल्लामा सम्भाव्यता अध्ययनको काम सकिएको छ”, उनले भने, “प्रदेश सरकारले त्यहाँबाट पनि जाँच गर्ने गृहकार्य गरेको छ ।” बिहीबारसम्म सुदूरपश्चिममा दुई हजार ९२३ जनाको स्वाब परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । तीमध्ये पाँचजनाको नतिजा पोजेटिभ र बाँकी सबैको नतिजा नेगेटिभ आएको थियो । सङ्क्रमित पाँचमध्ये चारजना निको भएर घर फर्किसकेको निर्देशनालयले जनाएको छ ।
“परीक्षणका लागि यसअघि सुदूरपश्चिमा एक हजार किट केन्द्रबाट आएको थियो”, जोशीले भने, “अहिले अरु स्वास्थ्य सामग्रीको अभाव छैन ।” उहाँले मास्क, पिपिइलगायत स्वास्थ्य सामग्री मौज्दात रहेको बताउनुभयो । “१४ दिनपछि क्वारेन्टाइन बसेपछि कोरोना जाँच गर्ने निर्देशिकामा भनिएको छ”, उनले भने, “किट नहुँदा समस्या भएको छ ।” किट अभाव हुँदा परीक्षणदेखि नमूना सङकलनको कामसमेत प्रभावित बन्न पुगेको छ । पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा पिसिआर किट र आरएनए एक्पेक्सन किट आवश्यक पर्छ ।
सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी पिसिआर र ¥यापिट टेष्टबाट हालसम्म १७ हजार ५२४ जनाको कोरोना परीक्षण गरिएको छ । सुदूरपश्चिमका नौवटै जिल्लामा स्थानीय तहले सञ्चालनमा ल्याएका ३९१ क्वारेन्टाइनमा बिहीबारसम्म तीन हजार ३७४ जना बसिरहेको निर्देशनालयले जनाएको छ । “क्वारेन्टाइनमा बसेकाको स्वाब लिएर परीक्षण गर्न बाँकी छ”, जोशीले भने, “पहाडी जिल्लामा क्वारेन्टाइनमा थपिने क्रम बढिरहेको छ ।” – रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी