×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनले नछोएको आरन व्यवसाय, मासिक ५० हजार आम्दानी

PRIME CA

लकडाउनले नछोएको आरन व्यवसाय, मासिक ५० हजार आम्दानी

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण उद्योग, व्यापार, व्यावसाय र अन्य रोजगार पनि बन्द छ । मानिस काम नपाएर पट्यारिलो दैनिकी गुजार्न बाध्य छन् । घरभित्र थुनिएर बस्नुपर्दा आम्दानीका बाटा पनि बन्द भएका र बन्दाबन्दी खुलेपछि थपिने आर्थिक बोझले मानिस अतास्सिन थालेका छन् ।
तर म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका ५२ वर्षीय हर्कबहादुर विश्वकर्मालाई लकडाउन आम्दानीको सुनौलो अवसरजस्तै बनेको छ । बन्दाबन्दीका कारण शहर वा विदेशबाट गाउँ फर्किएका व्यक्ति अहिले गाउँमा कृषिकर्ममा व्यस्त छन् । बन्दाबन्दीको शुरुआत (चैत ११) देखि नै गाउँमा शुरु भएको कामको चटारो अब साउन दोस्रो सातापछि मात्र समाप्त हुन्छ । 
यी चार महिना कृषि उत्पादन र भण्डारणका लागि महत्वपूर्ण महिना मानिन्छन् । कृषिकर्मका लागि कृषकलाई औजारहरु उधिन्ने, साँध लगाउने, मर्मत वा निर्माण गर्नुपर्दछ । यी सबै कामको बोझ ५२ वर्षीय हर्कबहादुरले सहर्ष स्वीकार गर्नुभएको छ । दुईवटा खाँबाको धरन, डाँडाभाटा र बलाको भरमा टिनको छाप्रो छ । त्यही छाप्रोमा सञ्चालन गरेको हर्कबहादुरको आरन व्यवसाय आम्दानीको गतिलो माध्यम बनेको छ ।
सानै उमेरदेखि फलाम र आरनको काम गर्ने सीप सिकेर उहाँले आरन पेशा थाल्नुभएको हो । आरन पेशा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरुको पुख्र्यौली पेशा भएकाले निरन्तरता दिएको उहाँले बताउनुभयो । टिनको छाप्रामुनि रहेको उहाँको आरनमा फलामबाट बन्न सक्ने सबै प्रकारका सामान बन्छन् । नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काम पनि आरनमै हुन्छ । “पोहोरपरारभन्दा यस वर्ष राम्रो आम्दानी भयो”, विकले भन्नुभयो, “लकडाउनका कारणले सबै मानिस गाउँमा आएका छन्, खेतीपाती गर्न थालेका छन्, कृषि औजार अरजाप्न र नयाँ बनाउन आउनेहरु पनि बढेका छन् ।”
मानिसलाई चाहिने दैनिक उपभोग्यका सामान बनाउन विश्वकर्मा निकै खप्पिस हुनुहुन्छ । उहाँले आफ्नो बाबुसँगै आरनमा बसेर फलामको काम गर्न सिकेको बताउनुभयो । १२ वर्षको उमेरदेखि आरन पेशामा लाग्नुभएका उहाँले आरनको सहयोगमा खुकुरी, बन्चरो, हँसिया, कुटो, कोदालो, थेबे, फाली, छिनो, टुकटुके, दाबेजस्ता दैनिक जीवनमा आवश्यक पर्ने सबै सामान बनाउनुहुन्छ । 
उहाँले काँचो फलाम किनेर विभिन्न सामान निर्माण गर्दै आउनुभएको छ भने विद्युत्को सहायताबाट तिनै फलामका सामान चम्काउने गर्नुहुन्छ । आरन पुरानो भए पनि निकै आकर्षक र लाग्ने खालका सामान बन्छन् । विश्वकर्मासँग घरेलु हतियार बन्दुक र नौमती पञ्चेबाजाअन्तर्गतको सनइ बनाउने सीप पनि छ । आरनमा बनेको खुकुरीलाई न्यूनतम रु तीन हजारदेखि आठ हजारसम्म मूल्य पर्दछ । यसैगरी हँसिया र फालीलाई एक–एक हजार, कोदाली, टुकुटुके एक हजार ५०० को दरले तथा थेबेलाई रु एक हजार २०० मूल्य पर्ने उहाँले जानकारी दिनुभयो । आरनबाट दैनिकरूपमा चाहिने विभिन्न प्रकृतिका सानादेखि ठूला सामान बन्छन् । आरनमा फलामबाट निर्मित सामान उदाउने ९अर्जाब्ने० काम पनि हुन्छ । 
गाउँभन्दा बाहिरबाट फलामका सामान बनाएको तथा मर्मत गरेर महिनामा रु ३५ हजार कमाइ हुनेहुँदा रु २० हजार बढी अन्नपातबाटै सङ्कलन हुन्छ । एक दर्जन हँसिया अर्जाबेवापत रु ५०० तिर्नुपर्ने रेट छ । विदेश नगए पनि विश्वकर्माले आरन पेशाबाटै परिवार धान्नुभएको छ । उहाँले छोरालाई पनि आरनको काम सिकाउन भन्दै बाबुछोराले छुट्टाछुट्टै आरन चलाउनुभएको छ । सानै उमेरमा पल्टन जाने भने पनि नगएको पीडा सुनाउँदै उहाँले यत्रो उमेर भइसक्दासमेत आफू अझै पोखरा नगएको बताउनुभयो । 
उमेरले ५०औँ वसन्तमा घुम्दै गर्नुभएका हर्कबहादुरले फलामका साथै काठको काम गर्न पनि सिपालु हुनुहुन्छ । काठबाट बन्ने हलो, जुवा, डाँडो, लिड्को र साओ ९मोही० जस्ता सामान बनाउने आफूसँग सीप रहेको उहाँको भनाइ छ । हर्कबहादुरको आरनमा डडुवा गाउँसहित छिमेकी पूर्णगाउँ, चिप्लेटी, नयाँगाउँ, तातोपानी, मिठौला, सिमलचौर, वाखेतलगायत स्थानबाट ग्राहकहरु पुग्ने गरेका छन् । परम्परागत सीप र प्रविधिमा आधारित आरनमा सामुदायिक वनजङ्गलबाट पैयुँ, गुराँस, हाडेकाफल, मौवा र आरुपाते रुखको सहयोगमा गोल बनाएर आरन सञ्चालन गरिन्छ । वनबाट ल्याएको गोलको सहयोगबाट नै फलामका सामान तिखारिन्छन् र चम्किन्छन् । 
पाँच जनाको परिवार रहेको विश्वकर्माले आरन पेशाबाटै परिवारको गुजारा चलाउने गरेको बताउँदै डडुवाको अधिकांश गाउँलेबाट आरनको काम गरेवापत अन्नपात लिन्छन् । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: