सुर्खेत । कर्णाली प्रदेश सभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ । प्रदेशसभा सदस्यद्वय अम्मरबहादुर थापा र सुशील थापालाई आइतबारदेखि बैठकमा प्रवेश गर्न रोक लगाएको हो । अम्मरबहादुर दैलेख क्षेत्र नं १ (ख) बाट र सुशील क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
दुवैलाई कोभिड–१९ बाट सुरक्षित रहन प्रदेशसभाले बनाएको आचारसंहिताको उल्लङ्घन गरी सङ्क्रमणको उच्च जोखिममा रहेको जिल्लामा गएको आरोप छ । दैलेखमा कोरोना सङ्क्रमण बढ्दै गएपछि प्रदेशसभा सदस्यद्वय क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन निरीक्षण र जिल्ला भित्रिने नागरिकको उद्धारमा खटिएका थिए ।
सभामुख राजबहादुर शाहीले आइतबारको बैठकमा अहिलेको अवस्थामा सबै सदस्यले सतर्कता अपनाउनुपर्ने जनाउँदै बजेट अधिवेशनभर कुनै पनि सदस्यलाई बाहिर नजान र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन रुलिङ गरेका थिए । उनले टेलिफोन गरी सदस्यद्वयलाई एक साता होम क्वारेन्टिन बस्न र अनिवार्य कोरोना परीक्षण गरेर मात्र बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।
प्रदेशसभा सचिव जीवराज बुढाथोकीले प्रदेशसभा सचिवालयको अनुमतिबेगर जिल्लामा जाने सबैका लागि यो नियम लागू हुने बताए । ‘कोभिड–१९ बाट सुरक्षित रहन प्रदेशसभाले बैठकमा सहभागी सबै माननीय, मर्यादापालक, पत्रकार, कर्मचारीसमेतको पिसिआर परीक्षण गरिएको थियो, बैठकमा सामाजिक दूरी कायम गर्ने गरिएको छ, निर्मलीकरणका सबै उपाय अपनाइरहेका बेला उहाँहरु जिल्ला जानुभयो’ सचिव बुढाथोकीले भने, ‘एक साताका लागि भनेर रोक लगाइएको छैन, कोरोना परीक्षण गरेर बैठकमा आउनसक्नुहुन्छ ।’
प्रदेशसभा सदस्य सुशील थापाले सभामुखले पूर्वाग्रही भएर आफूहरुलाई बैठक प्रवेशमा निषेध गरेको प्रतिक्रिया दिए । ‘हामी गृहजिल्ला पुगेर कोरोना नियन्त्रणका सम्बन्धमा उच्चस्तरीय बैठकमा सहभागी भएर आएका हौँ, विपद्को बेला जनप्रतिनिधि जनतामाझ पुगेको विषयलाई अन्यथा लिनुहुँदैन’, उनले भने ।
सभामुखले कसैलाई काखा, कसैलाई पाखाको व्यवहार गरेको उनको आरोप छ । ‘अन्य माननीय र मन्त्रीहरु आफूखुशी हिँडडुल गर्दा आचारसंहिता लागू नहुने, हामीलाई मात्र लागू हुने न्यायोचित छैन’, प्रदेशसभा सदस्य सुशील थापाले भने, ‘जनतामाझ जानु गल्ती होइन, सुरक्षाका सबै विधि अपनाएरै जिल्लामा पुगेका हौँ ।’ अर्का प्रदेशसभा सदस्य अम्मरबहादुरले पनि सभामुखले पिसिआर परीक्षण गरेर एक सातापछि बैठकमा आउन टेलिफोन गरेको बताए । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्