कर्णाली । रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् ।वैशाख महिनासम्म दुई हजार ४०० नागरिक बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो सङ्ख्या १९औँ गुणाले बढेर आयो । जेठ ६ गतेदेखि दैनिक हजारौँ मान्छे आउने क्रम निर्वाध चलेपछि यो महिनाको २९ गतेसम्म ३८ हजार ७१२ नागरिक कर्णाली भित्रिएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।
“कर्णाली भित्रिनेमा सबैभन्दा बढी नागरिक दैलेखका करिब १४ हजार र दोस्रोमा सुर्खेतका ११ हजार २४२ नागरिक रहेका छन्”, उहाँले भन्नुभयो, “त्यस्तै, कालीकोटका पाँच हजार, जाजरकोटका तीन हजार ५२१, सल्यानका तीन हजार ५१८, रुकुमपश्चिमका एक हजार ४४७, मुगुका एक हजार ३५०, जुम्लाका एक हजार २५७ र हुम्लाका २७५ नागरिक कर्णाली प्रवेश गरेका छन् ।” डोल्पा जिल्लामा भने भारतबाट आउनेको सङ्ंख्या शून्य रहेको उहाँले बताउनुभयो ।
भारतबाट ४१ हजारभन्दा बढी नागरिक कर्णाली भित्रिए पनि अझै आउने क्रम रोकिएको छैन । जेठको १५ देखि २९ गतेसम्म २८ हजार २६४ नागरिक कर्णाली भित्रिएको रेडक्रस जिल्ला शाखा सुर्खेतका सभापति नरहरि रेग्मीले जानकारी दिनुभयो । “हामीले यो अवधिमा भारतबाट आएका २५ हजार ४६० नागरिकलाई खाना, पानी र २८ हजार २६४ लाई सुर्खेतको छिन्चुमा पानी उपलब्ध गराएका छौँ”, सभापति रेग्मीले भन्नुभयो, “यो सेवामा कोपिला भ्याली सेवा समाज, लायन्स क्लब, जेसिस सुर्खेत, युनिसेफ, विश्व खाद्य, सङ्गठन र उद्योग वाणिज्य सङ्घको पनि सहयोग रहेको छ ।”
यसमा कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले खाद्यान्न उपलब्ध गराएको छ । प्रदेश सरकारले छिन्चुमा खानाका प्रबन्ध गरेपछि पछिल्लो समयमा भारतबाट कर्णाली फर्किने नागरिकले खाना र पानी राम्रोसँग पाएको भारतबाट स्वदेश फर्केका कालीकोटका दुर्ग बोगटीले बताउनुभयो । सरकारले खाना र पानीका साथै उद्धार पनि राम्रैसँग गरेको तिला गाउँपालिका–४ जुम्लाका सुरेश सुनारले बताउनुभयो ।
भारतबाट आएका ४१ हजार नागरिकमा अहिले तीन हजार ९३ महिला र २७ हजार पुरुष गरी करिब ३० हजारको हाराहारीमा क्वारेन्टिनमा छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार ७०७ पुरुष र ५६ महिला गरी ७६३ कोरोना सङ्क्रमितमध्ये ७३१ आइसोलेशनमा रहेका छन् । ६० जना कोरोना जितेर घर फर्किसकेका छन् ।
एक साताअघि दैनिक चार हजारको सङ्ख्यामा आउने नागरिक अहिले दैनिक एक हजारमा झरेको छ । यद्यपि आउने क्रम नरोकिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश सरकारले यो अवधिमा १५/२० हजार नागरिक भित्रिने गरेको अनुमानभन्दा शतप्रतिशत बढेर आएपछि सरकारलाई व्यवस्थापनमा समस्या भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रीता भण्डारी ९जोशी०ले जानकारी दिनुभयो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले भारतबाट आउनेको सङ्ख्या दैलेखमा बढी भएको र कोरोना सङ्क्रमण पनि तीव्ररुपले देखिन थालेपछि सरकार दैलेखको समस्या समाधानका लागि लागिपरेको बताउनुभयो । यता सामाजिक विकासमन्त्री दल रावलले भारतबाट भित्रिने नागरिकलाई केन्द्रमा राखेर दैनिक एक हजारको पिसिआर परीक्षण गर्ने तयारी भइरहेको बताउँदै कोरोना महामारीबाट प्रभावित जिल्ला दैलेखमा सरकार केन्द्रित रहेको बताउनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्