
उक्त निवेदनमाथि काठमाडौँ प्रशासनले सङ्क्रमणको जोखिम विष्लेषण र यात्रा औचित्यलाई पुष्टि हुने कागजातको समेत विचार गरी सवारी पास जारी गर्न सहमति प्रदान गरेपछि मात्रै सम्बन्धित कार्यालयले पास उपलब्ध गराउने छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गरी जेठ २८ को मन्त्रिपरिषद्को निर्णय तथा गृह मन्त्रालयको जेठ ३० को निर्देशनबमोजिम उक्त व्यवस्था गरिएको जनाएको छ । काठमाडौँबाट बाहिर जानका लागि व्यक्तिगत अत्यावश्यक कार्यका लागि भए प्रयोजन खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिनुपर्नेछ । सरकारी तथा संस्थागत कामका लागि भए सम्बन्धित कार्यालयको सिफारिस पत्रसहित निवेदन दिनुपर्ने सूचनामा जनाइएको छ ।
काठमाडौँ जिल्लाभित्र जोर–बिजोर प्रणाली लागू भएकाले सवारी पास भने हाललाई बन्द गरिएको छ ।-रासस