
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ थिमिस्थित मध्यपुर अस्पतालका सेवा पुनः सञ्चालनमा आएका छन् । अस्पतालमा कार्यरत ३० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखेर अस्पतालले आजदेखि आफ्नो सेवा सञ्चालन गरेको जनाएको छ । कोभिड–१९ सङ्क्रमण पुष्टि भएकी भक्तपुर बस्ने सुत्केरीको सो अस्पतालका चिकित्सकले शल्यक्रिया गरेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबारको नियमित पत्रकार सम्मेलनमा सङ्क्रमण पुष्टि भएकी ती महिलाको कोरोना परीक्षणको रिपोर्ट नआउँदै अस्पतालले सिजरिङ (शल्यक्रिया) गरी सुत्केरी गराएको थियो ।
अस्पतालका मेडिकल निर्देशन डा. रविना प्रधानाङ्गले महिलाको प्रत्यक्ष सम्पर्कमा आएका छ चिकित्सक, १२ नर्सिङ स्टाफ, ११ हेल्पर र एक ल्याब स्टाफ गरी ३० जनालाई क्वारेन्टिनमा राखिएको जानकारी दिनुभयो । दोलखा स्थायी घर भई हाल भक्तपुर कमलविनायकमा डेरा गरी बस्ने ३० वर्षीया गर्भवतीको जेठ २१ गते अस्पतालमा भर्ना भई सोही दिन शल्यक्रिया गरी सुत्केरी गराइएको थियो ।
लकडाउनसँगै दोलखा घर जानुभएकी उहाँ सुत्केरी हुने दिन नजिकिएपछि लकडाउनकै बीचमा फर्किएर यहाँको कमल विनायकस्थित कोठामा बस्दै आउनुभएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । शुरुमा निजामती (सिभिल) अस्पताल गए पनि भर्ना गर्न नमानेपछि यही १८ गते काठमाडौँ मेडिकल कलेज (केएमसी) सिनामङ्गल गएर भिडियो एक्सरे गरी शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्न स्वाब सङ्कलन गरी टेकु पठाएको थियो ।
यसपछि ती महिला कमलविनायकस्थित एक स्वास्थ्य संस्थामा प्रसूति रोग विशेषज्ञलाई भेटेर परामर्श लिइ स्वास्थ्य जाँच गरेको पाइएको छ । केएमसीमा शल्यक्रिया गर्ने तयारी गरे पनि यही २१ गते सो अस्पतालको सेवा केही समयमा लागि बन्द भएपछि ती महिला मध्यपुर अस्पताल जानुभएको जनाइएको छ ।
यही २१ गते मध्यपुर अस्पतालमा भर्ना भई सोही दिन शल्यक्रिया गरी सुत्केरी गराइ यही २३ गते अस्पतालले डिस्चार्ज गरेपछि काठमाडौँ कोटेश्वरस्थित माइती गएको पाइएको मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । सुत्केरी शल्यक्रिया गर्नु अगाडि गरिएको पिसीआर परीक्षणको रिपोर्ट जेठ २४ गते शनिबार पोजेटिभ आएपछि मध्यपुरथिमि नगरपालिका, महानगरीय प्रहरी वृत्त थिमि, सीएमसीको टोलीसँग छलफल गरी सङ्क्रमितसँग सम्पर्कमा आएकालाई क्वारेन्टिनमा राख्ने र अस्पतालको सेवा सुरक्षितरूपमा सञ्चालन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । सुत्केरी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा उपचारका लागि लगिएकोे छ ।
उहाँले सङ्क्रमित देखिँदैमा सिङ्गो अस्पताल सिलबन्दी गरेर अन्य बिरामीको उपचार रोक्न हुन्न भन्ने मान्यताअनुसार हाल अस्पतालको शल्यक्रियाकक्ष र प्रसूति वार्ड मात्रै केही समयलाई बन्द गराइ अरु सेवा सुरक्षितरूपमा सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो । अस्पतालका मेडिकल निर्देशक डा प्रधानाङगले ओपिडी, आकस्मिक र आइसीयू सेवा सञ्चालन नै राखेको जानकारी दिनुभयो । यी महिलासँगै भक्तपुरमा ६ जनामा कोरोना सङ्क्रमित भएका छन् । यसअघि चाँगुनारायण नपा–३ झौखेलकी गर्भवतीको पनि केएमसीमा भएको कोरोना परीक्षणमा पोजेटिभ आएपछि अहिले पाटन अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
गर्भवतीसँगै केएमसीका चार स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द भएको छ भने केएमसीमा शल्यक्रिया गरिएका एक बिरामीको त्रिवि शिक्षण अस्पतालमा कोरोना भाइरस सङ्क्रमणकै कारण मृत्यु भएको थियो । जिल्लामा दुई महिनाअघि रामेछाप घर भई हाल चाँगुनारायण नपा–१ सरस्वतीखेल बस्ने सशस्त्र प्रहरीका २७ वर्षीय जवान, सुनसरीको झुम्का नगरपालिका घर भई ललितपुरस्थित आरोग्य प्रतिष्ठानमा काम गर्ने २५ वर्षीया महिला, भक्तपुर नपा–५ योसिङ्खेल बस्ने काठमाडौँ महानगरपालिकाको सफाइ गाडीका चालक ४२ वर्षीय पुरुष र भक्तपुर नपा–९ तुमचो निवासी ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । यी चारैजना कोरोना भाइरस निको भएर घर फर्किएका छन् ।
त्यसैगरी चाँगुनारायण नपा–१ दुवाकोटस्थित केएमसी अस्पतालको आइसोलेसनमा कोरोना सङ्क्रमित आठ जनाको उपचार भइरहेको छ । केएमसी सिनामङ्गलका सङ्क्रमित तीन स्वास्थ्यकर्मी र काभ्रेमा यही २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको पाँच गरी आठ जनाको उपचार भइरहेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्