×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पिसिआर रिपोर्ट नआउँदा युवकको दाहसंस्कार हुन सकेन

LAXMI SUNRISE BANK

पिसिआर रिपोर्ट नआउँदा युवकको दाहसंस्कार हुन सकेन

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

डोटी । आइतबार बिहान क्वारेन्टिनमा मृत्यु भएका जिल्लाको केआइसिंह गाउँपालिका–३ दल्लका १९ वर्षीय एक युवकको पिसिआर रिपोर्ट नआउँदा दाहसस्कार हुन सकेको छैन । मृत्यु भएको १६ घण्टा बितिसक्दा पनि अझै रिपोर्ट नआउँदा उनको सबको दाहसंस्कार हुन नसकेको हो । 
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा शनिबार बेलुका ६ बजे नै मृतक र उनीसँगै बसेका अन्य नौ जनाको स्वाब सङ्कलन गरी पठाइएको भए पनि रिपोर्ट नआउँदा दाहसंस्कारका लागि शव नउठाइएको मृतकका आफन्तले जानकारी दिएका छन् । 
कैलालीमा एक मात्र पिसिआर मेसिन रहेकाले अन्य जिल्लाबाट पनि पठाइएको स्वाब परीक्षण गर्न बाँकी रहेकाले मृतकको पिसिआर परीक्षण हुन समय लागेको जानकारी आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।
उनले भने, ‘प्रयोगशालामा धेरै स्वाब परीक्षणका लागि क्युमा हरेकाले डोटीको परीक्षण हुन समय लागेको भन्ने खबर आएको छ, सम्भवतः आज साँझसम्ममा रिपोर्ट आउनसक्छ ।’ सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा.गुणराज अवस्थीले मृतकका थोरै आफन्त मात्र मिलेर दाहसंस्कार गर्न निर्देशन दिएका छन् ।
‘रिपोर्ट आउन समय लाग्छ होला दाहसंस्कारमा सहभागीलाई छुट्टै राखी दाहसंस्कार गरे हुन्छ’ उनले भने, ‘थोरै मानिस मिलेर दाहसंस्कार गरे हुन्छ, दाहसंस्कारमा संलग्न व्यक्ति रिपोर्ट नआउँदासम्म अलग बस्नुपर्ने हुन्छ ।’ मृतकका आफन्तले रिपोर्ट नआउँदा दाहसंस्कारमा ढिलाइ भएको र शव गन्हनाउने खतरा भएको भन्दै चाँडो रिपोर्ट पठाउन आग्रह गरेका छन् । 
दाहसंस्कारका लागि नेपाली सेना तयारीमा रहे पनि रिपोर्टको पर्खाईमा रहेको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए । वर्षाका कारण हिलाम्य सडकका बाबजुद गाउँपालिकाका स्वास्थ्यकर्मीले स्वाब सङ्कलन गरी कैलालीसम्म समयमै पु¥याए पनि त्यहाँ रहेको प्रयोगशालाले ढिलासुस्ती गरेको उनको आरोप छ । आइतबार बिहान ३ बजे मृत्यु भएका युवकको शव दाहसंस्कार नगरिँदा गन्हाउने अवस्थामा पुगेको केआइसिंह गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले बताए ।
उनले भने, ‘शव राखेको लामो समय भइसकेको छ, रिपोर्ट आएको छैन, शव गन्हनाउने अवस्थामा पुगिसकेको छ ।’ मृतक युवक लामो समयदेखि मुटुको रोगी भएको जानकारी पाइएको उनले जानकारी दिए । भारतको दिल्लीबाट उनी यही जेठ २० गते नेपाल आइपुगेपछि विद्यालयमा बनाइएको क्वारेन्टिनमा उनीसहितका अन्य व्यक्तिलाइ राखिएको थियो । 
विगत १२÷१३ वर्षदेखि छोरा मुटुको रोगी भएको मृतकका बुबाले बताए । उनले भने, ‘छोरो मुटुको रोगी थियो, खेत बेचेरसमेत उपचार गरे बचाउन सकेन अहिले मरिसक्दासमेत रिपोर्ट समयमै नआउँदा जलाउनसमेत पाएन, योभन्दा ठूलो पीडा के हुनसक्छ र ।’ क्वारेन्टिनमा आइतबार बुबा भेट्न आएको समयमा मृतक युवक बुबा देखेर एकाएक ढलेका थिए ।
‘बुबा देखेर ढलेको छोरा अब कहिले नउठ्ने गरी फर्कियो, रिपोर्ट नआउँदा अन्तिम सस्कार पनि गर्न पाइएको छैन’, मृतकका छिमेकी टकेबहादुरले भने, ‘मरेपछि पनि पीडा दिने यो कहाँको नियम हो, अरुकोभन्दा मृतकको रिपोर्ट छिटो आउनुपर्ने होइन र ?’ – रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी