- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको हो । आज डडेल्धुराका ५ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङख्या ९२ पुगेको छ । सुदूरपश्चिमका ९२ जना सङ्क्रमित मध्ये ८९ जना प्रदेशभित्रै रहेका छन् भने एक जना सङ्क्रमितको ज्यान गएको छ । बझाङ र बाजुराका एक-एक जना सङ्क्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ ।
सङ्क्रमितमध्ये ७ जना डिस्चार्ज भईसकेका छन् । सबैभन्दा बढी कैलालीका ४० जना, अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका र डडेल्धुरामा ६, ६, बाजुराका तीन, बझाङमा दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको हो । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ७५, सुर्खेतको प्रयोगशालाबाट १२ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।
भारतबाट बझाङ आएका एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बझाङ जिल्लामा पहिलो सङ्क्रमण भेटिएको हो । २६ वर्षका युवामा कोरोना सङ्क्रमणको पुष्टि भएको र अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीले जानकारी दिनुभयो ।