Skip to content
LAXMI SUNRISE BANK

जापानमा रहेका प्रवासीद्वारा कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा १३ लाख सहयोग

अर्थ सरोकार

बाग्लुङ । कोरोना सङ्टकसँग जुध्नका लागि बाग्लुङको ताराखोला गाउँपालिकामा जन्मेर जापानमा रहेका प्रवासीले आर्थिक सहयोग गरेका छन् । उनीहरुले बागलुङ ताराखोला गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा रु १३ लाख ११ हजार ५०० सहयोग गरेका हुन् । ताराखोलामा जन्मेर रोजगारी तथा अध्ययनको सिलसिलामा जापानमा रहेका ९९ नेपालीले गाउँपालिकाको कारोना नियन्त्रण तथा क्वारेन्टिन व्यवस्थापनका लागि सहयोग गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । ‘कोरोना महामारीसँग लड्नका लागि सहयोग प्राप्त भएको हो’ घर्तीले भने ।
उक्त सहयोग कोरोना कोषमा सबै खर्च नभएमा आगमी दिनमा गाउँपालिकामा पर्ने विपद्को सामना गर्न सहयोग पुग्ने जापानमा सहयोग सङ्कलनको संयोजन गर्नुभएको तेजबहादुर चालिसेले जानकारी दिए । जापानमा रहेर नरबहादुर थापा, गङ्गा घर्ती र ताराखोला समाज जापानका अध्यक्ष केदार थापा लगायतका पदाधिकारीको क्रियाशीलतामा उक्त रकम जुटेको गाउँपालिकाले जानकारी दिएको छ । सहयोग सङ्कलन भएको रु १३ लाख ११ हजार ५०० दुई चरणमा गरी गाउँपालिकाको कोरोना व्यवस्थापन तथा रोकथाम कोषमा जम्मा भइसकेको घर्तीको भनाइ रहेको छ । कोषमा हालसम्म ४१ लाख २५ हजार रकमा सङकलन भएको छ । 
धारा बनाउन ३३ करोडको २० आयोजना 
बागलुङमा आगामी आर्थिक वर्षमा सङ्घीय सरकारद्वारा एक घर एक धारा अभियानअन्तर्गत २० खानेपानी आयोजना निर्माण हुने भएका छन् । नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले आगामी आर्थिक वर्षमा २० खानेपानी आयोजनाका लागि रु ३३ करोड २६ लाख ५० हजार बजेट विनियोजन भएको जनाएको छ ।
२० नयाँ तथा क्रमागत खानेपानी आयोजनाको खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रम, ढल निर्माण तथा प्रशोधन कार्यक्रम, खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम र खानेपानी तथा गुणस्तर सुधार कार्यक्रमका लागि रु ३३ करोड २६ लाख ५० हजार बजेट विनियोजन भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कास्कीका वरिष्ठ डिभिजन इन्जिनीयर शेखर केसीले जानकारी दिए । २० आयोजनामध्ये पाँच नयाँ र १५ आयोजना क्रमागत अर्थात् बहुवर्षे रहेको केसीको भनाइ छ । 
आयोजनामध्ये बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका लागि रु १५ करोड, बागलुङ बजार ढल निर्माण तथा प्रशोधन कार्यक्रमका लागि रु १२ करोड, जसपुर घामपानी मखरा खानेपानी आयोजना नरेठाटीका लागि रु एक करोड, ग्वालिचौर खानेपानी आयोजनाका लागि रु ७० लाख, बलेवा नारायणस्थान खानेपानी गुणस्तर आयोजनाहरुमा प्रशोधन प्रणालीको सुधार र विस्तार तथा शुद्धीकरणका लागि रु ५० लाख विनियोजन भएको छ । त्यस्तै बागलुङ बजार लामा गाउँ पम्पिङ खानेपानी आयोजनाका लागि रु ५० लाख, हुग्दिशिर गुरुङ धारा बरेङ खानेपानी आयोजनाका लागि रु ५० हजार, गलकोट नगरपालिका हरिटया बजार खानेपानी आयोजनालाई रु ५० लाख, जलजला बृहत् खानेपानी आयोजना बडिगाडका लागि रु ५० लाख र चौराह दुदिलाभाटी खानेपानी आयोजनालाई रु ४० लाख विनियोजन भएको छ । 
यस्तै तित्याङ ठूलाढुङ्गा नुवारा खानेपानी आयोजनाका लागि रु ३० लाख, नौले माझ खर्क रिजालचोक खानेपानी आयोजनाका लागि रु ३० लाख, बागलुङ गलुवा डेकेवेराउट खानेपानी आयोजना रु २५ लाख, विस्तारित नगर खानेपानी आयोजनाका लागि रु २५ लाख, बुर्तिवाङ खानेपानी आयोजनाका लागि रु २५ लाख र झारदासी मझुवा खानेपानी आयोजनाका लागि रु १५ लाख बजेट विनियोजन भएको छ । 
त्यस्तै सौर्यकालिका लिफ्ट खानेपानी आयोजनाका लागि रु १० लाख, हिल खानेपानी आयोजनाका लागि रु पाँच लाख, कुडुले लिफ्ट खानेपानी आयोजनाका लागि रु एक लाख, हातेदह अर्नाकोट खानेपानी आयोजना निसीखोला गाउँपालिकाका लागि रु ५० हजार बजेट विनियोजन भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कास्कीले जनाएको छ ।
‘खानेपानी पहुँच नपुगेको र व्यवस्थित खानेपानी आयोजना निर्माणका लागि बजेट विनियोजन भएको हो’, इन्जिनीयर केसीले भने– ‘सबै बजेटले एक घर एक धाराको अवधारणाअनुसार खानेपानी वितरण गरिनेछ ।’ खानेपानी आयोजना आगामी वर्ष सम्पन्न हुन नसकेमा कामका आधारमा पुनः बजेट थप गरी सम्पन्न गरिनेछ । माग र आवश्यकताको आधारमा खानेपानी आयोजना छनोट भएको जनाइएको छ । -रासस
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK