Skip to content
LAXMI SUNRISE BANK

नक्कली स्यानिटाइजर बनाइ बिक्री वितरण गर्ने प्रहरीको फन्दामा, विभिन्न समान बरामद

अर्थ सरोकार

काठमाडौं । नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौं महानगरपालिका–१४ कलङ्कीका ३३ वर्षीय प्रदीप उपाध्याय लुइँटेल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौं महानगरपालिका–१६ नयाँबजार खुसिबुमा अवैधरूपमा गुणस्तरहीन मानव स्वास्थ्यमा असर पर्ने ह्याण्ड स्यानिटाइजर तथा कस्मेटिक सामान तयार गरी बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुले मङ्गलबार पक्राउ गरेको हो । बजारमा अत्यधिक माग भएका ह्यान्ड स्यानिटाइजरलगायत विभिन्न कस्मेटिक सामान नक्कली उत्पादन गरी बिक्री वितरण गर्न तयार पारी भण्डारण गरी राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको थियो ।
उनीहरुले विभिन्न प्रख्यात ब्राण्डका स्टिकर आफैंले छपाइ गरी खाली बोतलमा लेभलिङ तथा महङ्गो मूल्यसमेत राखी दुरुस्त बनाइ बजारमा अवैधरूपमा बिक्री वितरण गर्ने गरेको खुल्न आएको छ । उनीहरुले स्यानिटाइजर, विभिन्न ब्राण्डका स्याम्पु र विभिन्न ब्राण्डका नक्कली फेस क्रिमलगायत नक्कली कस्मेटिक सामान उत्पादन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले सूचना जारी गरी जनाएको छ ।
उनीहरुको साथबाट विभिन्न साइजको प्लाष्टिकको ग्यालेन तथा ड्रममा राखेको स्यानिटाइजर बनाउन प्रयोग हुने कच्चा पदार्थ ३ हजार २ सय ९० लिटर, तयारी नक्कली स्यानिटाइजर ५ सय एमएलको ८ बोतल, पाँच लिटर तयारी सेनिटाइजर, विभिन्न आकारमा बोतलमा राखिएको सयौं बोतल स्यानिटाइजर बरामद गरिएको छ । यस्तै नक्कली कस्मेटिक सामान, स्यानिटाइजरमा टाँस्ने स्टिकर एक झोला, विभिन्न रङका मसी, त्यसमा प्रयोग गरिने केमिकल तथा प्रयोग हुने यन्त्र उपकरण बरामद गरिएको छ । -रासस
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK