×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देवघाट गाउँपालिकाले गर्यो सहुलियत दरमा ८० लाख ऋण प्रदान गर्ने निर्णय, साना उद्योगीलाई राहत !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

देवघाट गाउँपालिकाले गर्यो सहुलियत दरमा ८० लाख ऋण प्रदान गर्ने निर्णय, साना उद्योगीलाई राहत !

Artha Sarokar

१२ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाले साना उद्योगीका लागि सहुलियत दरमा रु ८० लाख ऋण प्रवाह गरेको छ । गाउँपालिकाले रोजगारीका लागि ४० जना साना उद्योगीका लागि सहुलियत दरमा ऋण प्रवाह गरेको जनाएको छ । व्यवसाय गर्न चाहने तर पैसाको अभाव भएका उद्यमी छनोट गरी उनीहरुलाई छ प्रतिशत ब्याजमा ऋण लगानी गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकाका पाँचवटै वडाका युवायुवती छनोट गरी सहुलियत दरमा ऋण प्रवाह गरिएको थापाले जानकारी दिनुभयो ।
“हातमा सीप भएका तर रकम अभावमा व्यवसाय गर्न नसकेका व्यक्ति छनोटका लागि वडामार्फत सिफारिस भएर आएपछि ऋण प्रवाह गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा उनीहरुलाई उद्यमी बन्न सहयोग पु¥याएको छ ।” थापाका अनुसार गाउँपालिकाबाट ऋण लिएकाले तरकारी खेती, पशुपालन, किराना पसललगायत व्यवसाय गरेका छन् । ऋण लिएपछि सदुपयोग भए/नभएको बारेमा पनि अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।
सहुलियत दरमा ऋण प्रवाह गर्नका लागि गाउँपालिकाले ऋण समिति बनाएको छ । सोही समितिले मूल्याङ्कनमा आधारमा ऋण प्रवाह गर्नेछ । यसरी ऋण लिएकाले दुई वर्षभित्र ऋण तिरिसक्नुपर्ने हुन्छ । “ऋण लिन चाहनेलाई लक्षित गरी वडाबाट फारम सङ्कलन गरिएको थियो, वडाध्यक्षले सिफारिस गरेर पठाएकालाई ऋण प्रवाह गरेका हौँ”, उहाँले भन्नुभयो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि भने यो कार्यक्रम सञ्चालन गर्न नसक्ने भएको छ । बजेट अभाव भएका कारण आगामी आर्थिक वर्ष ०७७/७८ मा उक्त कार्यक्रम समावेश गर्न नसकिएको थापाले जानकारी दिनुभयो । युवा स्वरोजगार कोष कार्यक्रमअन्तर्गत गाउँपालिकाले चालु आर्थिक वर्षमा चितवन उद्योग वाणिज्य सङ्घको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजना तथा आर्थिक सहयोगमा ४५ जना उद्यमीलाई उद्यमशीलता तालीम सञ्चालन गरेको थियो ।
यसैबीच गाउँपालिकाले कृषि, जनस्वास्थ्य, पर्यटन, पूर्वाधार विकास र वातावरण तथा विपद् व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर आगामी वर्षका लागि रु ४० करोड ७५ लाख ५८ हजारको बजेट सार्वजनिक गरेको छ । उत्पादन र उत्पादकत्वको वृद्धि गरी रोजगारीको सिर्जना, सहज आगमनको लागि भौतिक पूर्वाधारतर्फ सडकको पहुँच विस्तार, खानेपानी तथा सरसफाइलाई उच्च प्राथमिकता दिई पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा, कृषि क्षेत्रलाई प्राथमिकता दिई उत्पादन र उत्पादकत्व वृद्धि तथा स्वस्थ नागरिक अमूल्य सम्पत्ति कार्यक्रमको कार्यान्वयन हुने गरी जनस्वास्थ्यलाई जोड दिने नीति लिइएको थापाले जानकारी दिनुभयो । 
कृषि, पशु स्वास्थ्य, उद्योग, पर्यटन र सहकारीको विकासको लागि रु पाँच करोड तीन लाख ५० हजार, कृषि क्षेत्रको लागि मात्रै रु दुई करोड बजेट विनियोजन गरिएको छ । पूर्वाधार क्षेत्रतर्फ गाउँपालिकाको भवन निर्माण र अन्य पूर्वाधार विकासको लागि रु छ करोड २५ लाख ९८ हजार विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी