×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाजुरामा राहत सामग्री बीच बाटोमै अलपत्र, राहत पाउने आशाले लक्षित वर्गले दिनदिनै फोन गर्दै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बाजुरामा राहत सामग्री बीच बाटोमै अलपत्र, राहत पाउने आशाले लक्षित वर्गले दिनदिनै फोन गर्दै

Artha Sarokar

९ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बाजुरा
बाजुरा । जिल्लाको पूर्वीउत्तरी क्षेत्रका लागि वितरण गर्न ल्याएको राहत सामग्री आधा बाटोमै रोकिएको छ । लगातारको वर्षाका कारण मार्तडी–कोल्टी सडक बन्द भएपछि बीच बाटामा पुगेको राहत अलपत्र अवस्थामा रहेको त्यस क्षेत्रका स्थानीय पालिकाले जानकारी दिएका छन् । पूर्वी–उत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका, हिमाली, स्वामिकात्र्तिक खापर गाउँपालिकासहित अतिविपन्न र गरिब परिवारका लागि आइएनएफ, एनएनडिएसडब्लुओलगायतका संस्थाले राहत सामग्री ट्र्याक्टरमा लोड गरेर कोल्टी ल्याउन लागेका हुन् । 
राहत गैरसरकारी संस्थाले अतिविपन्न र गरिब परिवार मुक्तहलियाका लागि लक्षित गरेर वितरण गर्न लागेका हुन् । बन्दाबन्दीले पारेको प्रभाव र अरुको ज्यालादारी गरेर काम गर्ने परिवारका लागि राहतस्वरुप वितरण गर्न लागिएको एनएनडिएसडब्लुओका जिल्ला संयोजक रोशन खड्काले बताउनुभयो । मार्तडी–कोल्टी सडक खण्ड गत असार तेस्रो सातादेखि अवरुद्ध भएको छ । सडकमा कतै पहिरो खसेको छ भने कतै खोलामा पानीको बहाव बढेका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राहत सामग्रीसहित लाखौँको व्यापारिक सामग्री बोकेर हिँडेका ट्र्याक्टर पनि ठाउँठाउँमा अलपत्र अवस्थामा छन् ।
आइएनएफ नामक गैरसरकारी संस्थाले बूढीनन्दा नगरपालिकाका ४१० परिवारका लागि वितरण गर्न लागेको खाद्यान्न र सुरक्षा तथा सरसफाइ सामग्री बीच बाटोमै अलपत्र परेको छ । राहत सामग्री कोल्टी लैजाने क्रममा बडिमालिका नगरपालिका–७ को रजातोली आसपास क्षेत्रमा अलपत्र अवस्थामा परेको आइएनएफका क्षमता विकास अधिकृत तिलक भण्डारीले जानकारी दिनुभयो । स्थानीय तहले छनोट गरेका आधारमा विपन्न, एकल महिला, मुक्तहलिया अपाङ्गता भएका व्यक्तिलगायतका परिवारलाई राहत दिने निर्णय गरिएको थियो । साँझ–बिहान छाक टार्नसमेत समस्या परेका परिवारलाई लक्षित गरेर वितरण गर्न लागिएको सामग्री बीचमै अलपत्र हुँदा दुःख लागेको अधिकृत भण्डारीको भनाइ छ ।
राहत पाउने आशाले लक्षित वर्गले दिनदिनै फोन गरिरहेका उहाँले बताउनुभयो । आठ-दश जनालाई मात्र भए भरियामार्फत ढुवानी गर्न हुन्थ्यौँ यत्रो ठूलो सङ्ख्यामा समस्या भएको भण्डारीले बताउनुभयो । यता नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले पनि हिमाली, स्वामीकार्तिक खापर गाउँपालिका र बूढीनन्दा नगरपालिकाका ५५१ परिवारका लागि वितरण गर्ने गरी खरिद गरेको खाद्यान्न पनि बीच बाटोमै अलपत्र परेको छ । खाद्यान्न सामग्री ठूलो मात्रामा भएकाले मान्छेबाट बोकाएर सम्भव नभएको र भनेको समयमा खच्चड पनि सम्पर्कमा नआएका कारण खाद्यान्न ढुवानीमा समस्या देखिएको छ । पानीकै कारण खाद्यान्न बिग्रिने चिन्तासँगै लक्षित वर्गलाई समस्यामा सहयोग पुग्न नसक्नु समस्या देखिएको छ ।
विसं २०५६ मा निर्माण शुरु भएको मार्तडी–कोल्टी सडक २१ वर्षसम्म पनि पुरानै अवस्थामा रहेको छ । ४३ किलोमिटर सडकमा रु ३५ करोड बढी बजेट खर्च गरिए पनि बाटो सुधार हुन नसक्दा स्थानीयवासीलाई असारदेखि असोजसम्म सास्ती बेहोर्नुपरेको छ । बाटो अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या देखिएको छ । यो वर्ष भने कालोपत्रका लागि रु ९८ करोडको पहिलो चरणको ठेक्का भई निर्माण शुरु गरिसकिएको छ । -रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी