×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको ‘नक्कली ब्रान्च मेनेजर’ बनेर खुलेआम ठगी, ऋण मिलाईदिने भन्दै १० लाख घुस ! हेर्नुहोस् घटनाको नालीबेली !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेपाल बैंकको ‘नक्कली ब्रान्च मेनेजर’ बनेर खुलेआम ठगी, ऋण मिलाईदिने भन्दै १० लाख घुस ! हेर्नुहोस् घटनाको नालीबेली !

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
कैलाली । दार्चुलाको लेकम गाउँपालिका १ का ३२ वर्षीय पदमराज भट्टसँग नेपाल बैंकको ब्रान्च मेनेजरको परिचयपत्र छ । उनी आफुलाई ब्रान्चको शाखा प्रबन्धक मात्र होइन बैंकको सीइओका नजिकका मान्छेसमेत बताउँथे । ऋण मिलाईदिन्छु भन्थे तर घुस माग्थे । अलिअलि प्रादेशिक कार्यालयमा बुझाउनुपर्छ र एक करोडमाथि ऋण लिंदा माथि सीइओसम्म नै पैसा पुर्याउनुपर्छ भन्थे र पैसा असुल्थे । सँगै नेपाल बैंकसहित अन्य बैंकका भौचरहरु टन्न बोक्थे, नेपाल बैंकका उच्च अधिकारीका भिजिटिङ कार्ड देखाएर फोन गरेजस्तो गर्थे । यति गरेपछि सोझासाझाहरुले नपत्याउने कुरै भएन ।
यसरी ठगे भट्टले 
धेरैलाई ऋण मिलाईदिएको छु भन्ने उनले टिकापुर नगरपालिका वडा नम्बर १ की ४४ बर्सिया महिलालाई पनि यस्तै गफ दिए । झन्डै ३ करोड ऋण मिलाईदिन्छु भन्दै उनले ५ प्रतिशत घुस मागे । १० लाख रुपैयाँको डिल गरेर उनले ऋणको प्रक्रिया अगाडी बढाउन भन्दै कागजपत्र पनि लिए । तर ‘माथि’ दिन पैसा नपुगेको भन्दै उनले थप २ लाख माग गरेपछि ठगिएकी महिलालाई शंका लाग्यो । त्यसपछि उनी प्रहरी कार्यालय पुगेर घटना विवरण सुनाइन् र उजुरी पनि गरिन् । उनकै सूचनाका आधारमा यसरी ठगी गर्ने ‘ठग’ पक्राउ परे । बल्ल थाहा भयो उनी नक्कली मेनेजर रहेछन् । प्रहरीले उनलाई डोटीको पिपल्लाबाट पक्राउ गर्यो । उनलाई साथ दिने डोटीको आदर्श गाउँपालिका वडा नम्बर ३ की ३५ बर्सिया सन्जा कुमारी कठायत रोकायालाई पनि प्रहरीले पक्राउ गर्यो ।
भट्टको साथबाट नेपाल बैङ्क लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैङ्क तथा आईएमईका भौचर समेत बरामद गरिएको छ । भट्टले आफू नेपाल बैङ्क लिमिटेडको शाखा अधिकृत भएको र आफ्नो घर धनगढी उपमहानगरपालिका ५ भएको भन्दै १० लाख दिएमा ३ करोड ५० लाख लोन पास गरी दिने भन्दै पीडित महिलालाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘नेपाल बैंकमा काम गरेको धेरै भइसक्यो, यो नेपालको एकमात्र बैंक हो जहाँ घुस नखुवाई २ रुपैयाँको पनि काम हुँदैन भनेर गफ दिन्थे उनी । ‘हो क्यार’ भनेर ऋणीहरु पत्याउँथे । तर यसरी बैंकको मेनेजर बनेर कसैले खुलेआम ठग्छ भन्ने कसैले सोचेका थिएनन् ।  
जवर्जस्ती करणी मुद्धामासमेत परेका भट्ट नेपाल बैंकका नक्कली ब्रान्च मेनेजर !
यसअघि पनि पदम राज भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीले अपहरण तथा जबरजस्ती चोरी मुद्रामा पक्राउ गरेको थियो । भट्टले अरूलाई पनि ठगेको हुन सक्ने भएकाले पीडितलाई कार्यालयमा सम्पर्क राख्न कैलाली प्रहरीले अनुरोध गरेको छ । तर उनले बोकेको परिचयपत्र बैंकको सक्कली परिचयपत्रझैं भएकाले कतै बैंकका सक्कली ब्रान्च मेनेजरहरुको पनि मिलेमतो छ कि भन्ने आशंका भने गरिएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
हामीकहाँ ऋण लिन घुस दिनुपर्दैन : सीइओ
यता बैंकका प्रमुख कार्यकारी अधिकृत भने नेपाल बैंकबाट ऋण लिन घुस दिनुनपर्ने दाबी गर्छन् । उनले विभिन्न अन्तर्वार्ताका क्रममा खुलेरै नेपाल बैंकबाट ऋण लिन घुस खुवाउनुनपर्ने बरु घुस खुवाएको थाहा भए काम नहुने दाबी गरेका थिए । तर सुदूरपश्चिममा घटेको यो घटनाले दालमा कतै कालो त छैन भन्ने शंका गर्ने ठाउँ भने दिएको छ । यसअघि पनि बैंकको रकम घोटाला गरेको भन्दै नेपाल बैंकका मेनेजर पक्राउ परेका थिए । उनले घोटाला गरेको पुष्टी भएपछी अहिले उनलाई अख्तियारले मुद्धा चलाएको छ ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: