- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको छ । आयोगले कोरोना बढी सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको हो ।
आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा काठमाडौँ उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा कोरोना सङ्क्रमण फैलिएमा स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पु¥याउन र पिसिआर परीक्षणलाई तीव्रता दिई नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई पुनः आग्रह गरिएको छ ।कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय नेपालमा पनि उच्चस्तरमा फैलँदै गइरहेको अवस्थामा उपत्यकाका ढलहरुमा समेत कोरोनाको भाइरस भेटिएको भन्ने सञ्चारमाध्यममा सार्वजनिक भएकाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।