
हाल एकान्तबासमा रहेका व्यक्तिको स्वाबको नमूना सङ्कलन गरी परीक्षण भइरहेकाले सोको जानकारीसहित अस्पताल सेवा सञ्चालनसम्बन्धी जानकारी आगामी आइतबार दिइने अस्पतालले जनाएको छ । अहिले अस्पतालभित्र कोभिड–१९ लेभल ३ प्रि कोभिड वार्डमा छ जना र कोभिड पोजेटिभ वार्डमा २१ जना गरी २७ जना उपचाररत छन् । यसैबीच मण्डनदेउपुर नगरपालिकामा पनि कोरोना सङ्क्रमण देखिएकाले बिहीबारबाट अर्को सूचना नभएसम्मका लागि जिरोकिलो–सिपाघाटलगायत अन्य स्थानबाट नगरपालिका क्षेत्र प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
बिहीबार नगरपालिकाका अधिकृत मनोज अधिकारीले सूचना जारी गरी नगरपालिका क्षेत्रभित्र अत्यावश्यकबाहेकका सम्पूर्ण किसिमका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन र व्यक्तिको आवतजावतमा समेत रोक लगाइएको बताउनुभएको छ । त्यस्तै अत्यावश्यक सामग्रीबाहेकका अन्य सम्पूर्ण किसिमका होटल, पसललगायतका व्यवसाय बन्द गर्न र अनावश्यक मानिसको भिडभाड नगर्न नगराउनसमेत नगरपालिकाले आग्रह गरेको छ ।
धुलिखेलबाट अत्यावश्यक सेवाबाहेक अन्य बन्द
धुलिखेल नगरपालिकाले आजदेखि लागू हुने गरी आगामी भदौ ५ गतेसम्मका लागि नगरपालिकाबाट प्रवाह हुने सेवामा अत्यावश्यकबाहेका अन्य सेवा बन्द गरेको जनाएको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भई त्यसबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको नगरप्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । नगरपालिकाले बिहीबार नै सूचना जारी गरी धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको एक स्वास्थ्यकर्मी र अस्पताल नजिककैको होटल व्यवसायीलाई समेत कोभिड पोजेटिभ देखिएकाले अस्पतालको २०० मिटर वरिपरिको क्षेत्रलाई कन्ट्याक्ट ट्रेसिङको अवधिभर सिल गरिएको जनाएको छ ।
कोभिड–१९ कै प्रभावका कारण धुलिखेल नगरपालिकाको न्यायिक समितिको काम कार्वाहीसमेत बिहीबारबाट अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ । सो अवधिमा नगरपालिका क्षेत्रभित्र कुनै पनि बैठक, गोष्ठी भेला, धार्मिकस्थलमा दैनिक नित्य पूजाबाहेकका अन्य गतिविधिका कार्यमा समेत रोक लगाइएको नगरपालिकाले जनाएको छ ।-रासस