
महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.हरिकुमार श्रेष्ठले हाल ६ शय्याको आइसीयु सेवा सञ्चालनमा आएको जानकारी दिदैं निकट भविष्यमा दश शय्याको पुर्याइने बताउनुभयो । उहाँले विगत एक महिनामा ४३ जना बिरामी आइसीयु उपचारपछि निको भएर घर फर्किएको जानकारी दिनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले अस्पताललाई प्रविधियुक्त बनाउनुपर्ने अहिलको आवश्यकतालाई ध्यानमा राखेर सोही अनुरुप कार्य भइरहेको बताउनुभयो । “अस्पतालको विकास, विस्तार र प्रभावकारी सेवा प्रवाहका लागि सबैको सहयोग र समन्वय आवश्यक छ”, उहाँले भन्नुभयो “आइसीयु सञ्चालनले बिरामीलाई धेरै सहज हुनेछ ।”
भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले अस्पतालको विकास र सुधारका लागि नगरपालिकाले अस्पतालसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो । “अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन हाडजोर्नी र स्त्रीरोग विशेषज्ञ चिकित्सक ल्याउन पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “चिकित्सकको व्यवस्थापनका लागि आवश्यक पर्ने हरेक किसिमको सहयोग गर्न नगरपालिका तयार छ ।” कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ्ग, प्रदेशसभा सदस्यद्वय प्रकाश रावल र मानबहादुर सुनारलगायत स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । –रासस