- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि निजी क्षेत्रमा काम गर्ने २२ दशमलव ५ प्रतिशत मानिसहरुले रोजगारी गुमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी सर्वेक्षण प्रतिवेदन’ अनुसार २२ दशमलव ५ प्रतिशत कर्मचारी/कामदारहरुले रोजगारी गुमाएका छन् । यो अवधिमा होटल, रेस्टुरेन्ट क्षेत्रमा सबैभन्दा बढी कर्मचारी/कामदारहरु कटौति भएको पाइएको छ ।
त्यस्तै घरेलु उद्योग, लघु उद्यम लगायतका खुद्रा व्यापारिक क्षेत्रमा सबैभन्दा धेरै कामदार कटौति भएको राष्ट्र बैंकले जनाएको छ । लकडाउनको अवधिमा ४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा र ३५ प्रतिशत आंशिक रुपमा सञ्चालनमा रहेका छन् । त्यसबाहेक ६१ प्रतिशत उद्योग व्यवसायहरु पूर्णरुपमा बन्द भएका छन् । अधिकांश उद्योग÷व्यवसायहरु बन्दा हुँदा अर्थतन्त्रमा गहिरो असर परेको निष्कर्ष राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनको रहेको छ ।