
पाँचथर । फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा सघन उपचारकक्ष (आइसियु) र भेन्टिलेटर जडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रु दुई करोड बजेट विनियोजन गरेको छ । पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङको पहलमा अस्पतालमा १० शय्याको आइसियु तथा पाँच भेन्टिलेटर जडानका लागि बजेट विनियोजन भएको हो ।
पाँचथरसहित पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम र इलाम जिल्लाका सेवाग्राही लाभान्वित हुने गरी अस्पतालको स्तरोन्नति र अत्याधुनिक सेवा विस्तार अत्यावश्यक रहेकाले सङ्घीय सरकारबाट उक्त बजेट विनियोजन गरिएको मन्त्री नेम्वाङले बताउनुभयो । “कोभिड–१९ सङ्क्रमणको महामारीले हाम्रा सबै स्वास्थ्य संस्थालाई सबल बनाउने शिक्षा दिएको छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “दुर्गमका बिरामीलाई टाढा पुर्याउनुपर्ने बाध्यता हटाउन उचित बजेटको प्रबन्ध गर्दै जान्छौँ ।” मन्त्रालयबाट उक्त बजेट कार्यान्वयनका लागि अख्तियारी पठाइएको र कोभिड–१९ को महामारी लामो समय रहे सङ्क्रमितको उपचारमा सहयोग पुग्ने मन्त्री नेम्वाङले विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समिति पाँचथरका प्रमुख एवं जिल्ला अस्पताल सञ्चालक समितिका संयोजक विष्णुप्रसाद सापकोटाले उपलब्ध बजेटको शीघ्र कार्यान्वयनमा जोड दिइने बताउनुभयो । “एक त हामी महामारीसँग जुधिरहेका छौँ, अर्को हामी दुर्गममा रहेकाले अत्याधुनिक सेवा लिन लामो यात्रा गर्नुपर्ने तथा ठूलो धनराशि खर्च गर्नुपर्ने बाध्यता छ”, सापकोटाले भन्नुभयो, “तीनै तहका सरकारको प्रयासले अस्पतालमा आधुनिक सेवा विस्तार गर्ने कार्यले पूर्णता पाउनेछ ।” सङ्घीय संरचनानुसार प्रदेश सरकारले जिल्ला अस्पताल सञ्चालनको जिम्मेवारी पाएको छ । हाल २० श्ययाको अस्पताल ५० शय्या रूपान्तरित भइरहेको छ ।
सोअनुसार नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । “आइसियु र भेन्टिलेटर जडानका लागि बजेट प्राप्त भएपछि नयाँ भवन चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्न जोड दिएका छौँ”, जिससका प्रमुख सापकोटाले भन्नुभयो, “कामदार तथा प्राविधिकलाई कोभिड–१९ सङ्क्रमणबाट जोगिँदै शीघ्र निर्माण सम्पन्न गर्ने तयारीमा छौँ ।” शय्या विस्तारसँगै चिकित्सक तथा प्राविधिक जनशक्तिसमेत थपिने सापकोटाले बताउनुभयो ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्