
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा गएको पाँच महिनामा आरडिटी-पिसिआर पद्धतिबाट कूल जनसङ्ख्याको दुई दशमलव एक प्रतिशत अर्थात् ५३ हजार ७४९ जनाको कोरोनाको नमूना जाँच गरिएको छ । जाँच गरिएका नमूनामध्ये सोमबारसम्म पाँच हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो नमूना जाँच गरिएको सङ्ख्या ५२ हजार २१३ को झण्डै १० प्रतिशत हो । प्रदेशको कुल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेको छ । पहिलो पटक गएको चैत दोस्रो हप्तामा प्रदेशमा कोरोनाका सङ्क्रमित फेला परेसँगै कोरोनाको नमूना सङ्कलन र परीक्षणको दायरा बढाउनु पर्ने माग सबैतिर उठ्दै आएको थियो । सङ्क्रमित फेला परेसँगै पिसिआर र आरडिटी पद्धतिबाट शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन गरी जाँचको कार्य शुरु गरिएको थियो । पिसिआर पद्धतिको तुलनामा त्यति भरपर्दो नदेखिएको आरडिटी पद्धतिबाट भने एक लाख २४ हजार ६९० जनाको नमूना जाँच गरिएको छ ।